सिन्धुपाल्चोकमा मानवअधिकार हननका २६ घटना



मेलम्ची, ११ पुस । सिन्धुपाल्चोक जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार हननका घटनामा कमी आएको छ । गत वर्ष ६५ वटा मानव अधिकार हननका घटना भएका थिए भने यस वर्ष २६ वटा घटना घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।

गैरराज्यतर्फबाट २५ र साङ्गठानिक समूहबाट भएको एउटा गरी यस वर्ष जिल्लामा २६ मानव अधिकारसम्बन्धी घटना घटेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

सार्वजानिक गरेको तथ्याङ्कमा भने राज्यको तर्फबाट भएको मानव अधिकारसम्बन्धी घटना समावेश छैन भने कालीका गाविसस्थित उखुबारीमा भएको घटनाको तथ्य सङ्कलन गर्न बाँकी रहेको समेत जानकारी दिएको छ ।

मानव अधिकार हनन भएका २६ पीडितमध्ये २३ महिला र तीन पुरुष रहेका छन् । मानव अधिकार हनन गरेको आरोप आठ महिला र २७ पुरुष गरी ३५ जनालाई लगाइएको मानव अधिकारकर्मी नातीबाबु धितालले जानकारी दिनुभयो ।

मानव अधिकार हनन भएको घटनामा संलग्नमध्ये १९ वटा आरोपीलाई कानुनी कारबाही गरिएको छ भने छवटा मिलापत्र गरिएको छ ।

चार वटा हत्या, बाल अधिकार हननसम्बन्धी सात वटा, महिला अधिकारसम्बन्धी १४ वटा, कुटपिटसम्बन्धी तीन वटा र एउटा आगजनीबाट जम्मा २९ रहेको इन्सेकले जनाएको छ । नागरिकको स्वास्थ्य अधिकार पनि जिल्लामा सन्तोषजनक नभएको तथ्याङ्कमा उल्लेख छ ।

बाल विवाह सिन्धुपाल्चोकको मुख्य चुनौतीको रुपमा रहेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य सोम सापकोटाले बताउनु भयो ।
त्यस्तै महिला र पुरुषको एउटै काम भए पनि ज्यालामा हुने विभेद र अन्य क्षेत्रमा समेत पछि पारिएको सापकोटाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्