बालबालिकाको अनुदान वितरण भएन



काभ्रे, (नेस)
भूकम्प गएको २१ महिनासम्म भूकम्पपीडित बालबालिकाले प्राप्त गर्नुपर्ने युनिसेफको अनुदान सहयोग वितरण हुन सकेको छैन। केही गाउँ विकास समितिका सचिवहरूले पहिलो किस्ताबापत लगेको रकमको पेस्की फस्र्योट हुन नसक्दा उक्त रकम वितरण हुन नसकेको हो।

‘हामीले सबै गाउँ विकास समितिमा पहिलो किस्ताबापतको रकम वितरण गरिसकेका छौं, छुटेका बालबालिकाको रकम वितरणमा केही समस्या देखिएको छ’, जिल्ला विकास समितिका गायत्रीरमण घिमिरेले भन्नुभयो– ‘गाउँ विकास समितिका सचिवहरूले लगेको पेस्की फस्र्याेट नगरेका कारण खातामा थप रकम निकासा भएको छैन भने केही गाउँ विकास समितिमा परिषद् तथा अन्य कारण वितरणमा ढिलाइ भएको छ।’ पौष मसान्तभित्रै उक्त रकम वितरण गरी सक्न गाविस सचिवलाई निर्देशन दिइसकिएको स्थानीय विकास अधिकारी टेकराज निरौलाले जानकारी दिनुभयो।

युनिसेफले भूकम्प प्रभावित जिल्लाका ५ वर्षमुनिका बालबालिकाको पोषणका लागि सहयोग गर्ने घोषणा गरेपछि फर्जी जन्मदर्ता गर्ने बालबालिकाको संख्या बढेको छ। सरकारी तथ्यांकमा पाँच वर्षमुनिका बालबालिका कति छन् र ? कतिलाई पोषणको सहयोग आवश्यक छ भन्ने यकिन तथ्यांक भेटिन छाडेको छ। शंकास्पद लागेका व्यक्तिलाई सचिवहरूले सम्बन्धित गाविस र नगरपालिकाको सिफारिसविना रकम भुक्तानी गरेनन्। बनेपा नगरपालिकाको एउटा वडामा ५ सय जति बालबालिका हुने लक्ष्य राखिएकोमा २ हजार ५ सय बालबालिकाले सहयोग रकम लिन जन्म दर्ता बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्