सामुदायिक वनमा सिमसार परियोजना



भद्रपुर, (नेस)
झापाको सदरमुकाम नजिकै रहेको चन्द्रगढी सामुदायिक वनमा चन्द्रगढी सिमसारको परियोजना शुरू गरिएको छ। चन्द्रगढी सिमसार विकास तथा प्रवद्र्धन परियोजनाअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन क्षेत्रभित्र रहेको निचाझोडा जंगलमा परियोजना शुरू गरेको हो।

जंगलको कुल १६ हेक्टर जग्गामध्ये करिब १२ हेक्टरमा ५ करोडभन्दा बढी लागतमा सम्पन्न हुने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताए। जल, जमिन र जंगललाई संरक्षण गरी भावी सन्ततिको उज्वल भविष्य निर्माण गर्ने परियोजनाको उद्देश्य रहेको उनको भनाइ छ। परियोजनालाई सफल बनाउन सबै क्षेत्रको सहयोगी भूमिका निर्वाह अनिवार्य रहेको उनले बताए। परियोजनालाई हालै वन मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले शिलान्यास समेत गरेको जानकारी दिँदै परियोजनामा नौका विहार, ठूला जलाशय, वनभोज स्थल, बाल उद्यान, वन्यजन्तु संरक्षण गृहलगायत विभिन्न स्थल निर्माण गरिने उनले जनाए। वन समूहमा रहेका २ हजार ८१ घरधुरीले हरेक वर्ष १ हजार नगद बराबरको दुई खेतला ५ वर्षसम्म परियोजनामा लगानी गर्न सहमति भएको समेत उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्