शहीदमार्ग विस्तार कार्य तीव्र



नरेन्द्र केसी, घोराही, दाङ
ङको घोराहीदेखि कर्णालीको डोल्पा जोड्ने शहीद मार्ग निर्माणले गति लिएको छ। अहिले विभिन्न खण्डमा सडक चौडा पार्ने काम भइरहेको छ भने नयाँ ट्रइक खोल्ने काम पनि जारी छ।

गत आर्थिक वर्षमा बजेट शतप्रतिशत खर्च गर्न सफल यो योजनाले लक्ष्यभन्दा दोब्बर प्रगति गरेको शहीद मार्ग योजनाका प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो। दाङको घोराहीबाट रोल्पाको होलेरी–नुवागाउँ–घर्तीगाउँ–बागमारा–चुनवाङ–महत–काँक्री–तकसेरा–हुकाममैकोट हुँदै डोल्पा जोड्ने यो सडकको लम्बाइ २ सय १० किलोमिटर रहेको छ।

अहिलेसम्म १ सय ८२ किलोमिटर सडकको ट्रइक खुलेको योजना प्रमुख देवकोटाले जानकारी दिनुभयो। त्यसमध्ये ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ३१ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको छ। ‘घोराही–होलेरीको ३१ किलोमिटर खण्ड कालोपत्रे गरेपछि निरन्तर कालोपत्रेको काम अगाडि बढाउने योजना छ’, योजना प्रमुख देवकोटाले भन्नुभयो– ‘त्यहीअनुसार विभिन्न खण्डमा अहिले डबल कटिङको काम भइरहेको छ।’

रोल्पाको दुई खोलीबाट थवाङसम्म शहीद मार्गकै अर्को रुटबाट ट्रइक खन्ने काम सकिएको छ। यो रुटमा गाडी चल्न थालिसकेका छन्। रोल्पाको बागमारा–रुकुमको चुनवाङ हुँदै रुकुमको महत पुगेपछि महतको दोमैमा शहीद मार्ग मध्यपहाडी लोकमार्गसँग जोडिन्छ। पूर्वको पाँचथरदेखि पश्चिम दार्चुलासम्म जोड्ने १ हजार ७ सय किलोमिटर लामो मध्यपहाडीको रुकुम खण्ड मात्र एक सय २४ किलोमिटर रहेको छ। मध्यपहाडी लोकमार्गले रुकुमका रुकुमकोट, मुसीकोट र चौरजहारीलाई छोएको छ।

यति महत्त्वपूर्ण सडक मध्यपहाडी लोकमार्गलाई छुने र तराईदेखि हिमालसम्म जोड्ने सडक भएकाले शहीद मार्गको महत्त्व बढेको योजना प्रमुख देवकोटाले जानकारी दिनुभयो। त्यसो त भारतसँग जोडिएको कोइलाबास नाकादेखि चीनसँग जोडिएको डोल्पाको मरिमसम्म जोड्ने भएकाले यसलाई त्रिदेशीय सडकको रूपमा स्थापित गर्न सकिने एक इन्जिनियरले बताए।

यति महत्त्वपूर्ण सडक भए पनि बजेट न्यून रहेको योजना प्रमुख देवकोटाले जानकारी दिनुभयो। ‘हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला यो योजना शुरू भएकाले अहिले उहाँ प्रधानमन्त्री भएकाले बेला बजेट बढ्ने आशा गरेका छौं’ –उहाँले भन्नुभयो। पर्याप्त बजेट आएमा समयमै गुणस्तरीय काम गरेर योजना सम्पन्न पार्न सकिने पनि उहाँले बताउनुभयो।
यो योजनाको प्रधानमन्त्री प्रचण्डले निरीक्षण पनि गर्नुभएको छ। सो क्रममा उहाँले जनयुद्धकालमै पार्टीले शुरू गरेको नमुना योजना र आफू प्रधानमन्त्री भएको बेला शुरू गरिएको रणनैतिक सडक भएकाले यसमा सरकारले ध्यान दिने बताउनुभयो। आफू प्रधानमन्त्री भएपछि देशका महत्त्वपूर्ण योजना निरीक्षण गरिरहेको भन्दै उहाँले शहीद मार्गले पनि अझै गति लिने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्