समाजसेवी सैंजूको निधन



नेपाल समाचारपत्र
बुटवल
बुटवलका वरिष्ठ समाजसेवी गणेशमान सैंजूको आइतबार बिहान निधन भएको छ। लामो समयदेखि निमोनियाबाट ग्रसित सैंजूको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा बिहान निधन भएको हो। ८५ वर्षीय सैंजूको निधनले बुटवलले एउटा साझा व्यक्ति गुमाएको छ।

८५ वर्ष पुग्दा पनि सक्रिय रूपमा सामाजिक काममा सैंजू सक्रिय हुनुहुन्थ्यो। घरमा वृद्ध बुबाआमा अरूको सहारामा समाजसेवामा लागेका सैंजूले विभिन्न संस्थाको जन्म गराउनुभएको थियो।

विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष, रूपन्देही अध्यक्ष, नवजागृति पुस्तकालय, शिवकुमारी सैंजू वृद्धाआश्रम, नवजागृति सामाजिक भवन ट्रस्टलगायतका सामाजिक संघसंस्थाका अध्यक्ष गणेशमानको निधनले ठूलो क्षति पुगेको छ। बुटवलमा २०१५ सालदेखि व्यापार व्यवसायमा लाग्नुभएको सैंजूको यसअघि नै ‘कर्मयोगी समाजसेवी गणेशमान सैंजू व्यक्तित्व र योगदान’ नामका ग्रन्थ प्रकाशित भइसकेका छन्।

१९९० साल साउन १६ गते पाल्पामा जन्मिएका उहाँको परिवारमा १३ जना सदस्य छन्। उहाँका ५ छोरी, २ छोरा छन्। सैंजूको शवयात्रा १० बजे उहाँको निवास राम मन्दिरबाटबाट शुरू गरिएको थियो भने ११ बजेबाट २ बजेसम्म विश्व हिन्दु महासंघमा श्रद्धाञ्जलीका लागि पार्थिव शरिरलाई राखिएको थियो। ३ बजे मैनाबगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्