अखण्ड प्रदेशको माग स्थानीयले लिए माटो छोपेर शपथ



अनिल खत्री, गुल्मी
अखण्ड पाँच नम्बर प्रदेश राख्न भन्दै गुल्मीमा स्थानीयले माटो छोपेर शपथ लिएका छन्। सकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्रइएर दर्ता गरेको संशोधन प्रस्तावको जारी आन्दोलनको विरोधस्वरूप गुल्मीको सदरमुकाम तम्घासमा स्थानीयले माटो छोपेर शपथ लिएका हुन्।

प्रदेश र माटोको रक्षाका निम्ति भन्दै जिल्लामा आन्दोलनरत संयुक्त संघर्ष समितिको आयोजनामा विभिन्न राजनीतिक दल, नागरिक समाज, पत्रकार स्थानीयले शपथ लिएका छन्। तम्घासको लाकुरी मञ्च संयुक्त संघर्ष समितिका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले सबैलाई हातमा माटो छोपेर एउटै शपथ ग्रहण गराएका थिए। स्थानीयले लिएको शपथमा सबैले आ–आफ्नो नामसहित नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव र सबै जातजाति, भाषाभाषी र संस्कृतिका जनताबीचको अटुट एकताका लागि निरन्तर प्रयत्नशील रहनेछु लेखिएको छ।

शपथमा ‘नेपाली समाजलाई विखण्डन गर्ने तथा जनता–जनताबीच विद्वेष सिर्जना गर्ने सबै दुष्प्रयासका विरुद्ध दृढतापूर्वक उभिइरहनेछु उल्लेख छ। पहाड र तराई मधेसलाई अलग हुन नदिन तथा पाँच नम्बर प्रदेशलाई अखण्ड राख्न सम्झौताहीन संघर्ष गरिरहनेछु। राष्ट्रिय एकता जिन्दावाद, सामाजिक सद्भाव कायम राखौं, नेपाल र नेपालीको जय होस् भन्दै स्थानीयले शपथ लिएका छन्। शपथ ग्रहणपछि बोल्ने अधिकांश नेताले यस प्रदेशलाई टुक्रिनबाट बचाउन दृढताका साथ अघि बढ्ने बताए। जनताको भावनामाथि खेलवाड नगरी अविलम्ब प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका थिए। गुल्मी २६ दिनदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू हँुदै आएको छ।

जिल्लाको आन्दोलनमा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दललगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ। सरकारले ५ नं. प्रदेश टुक्रइउने प्रस्ताव संसद्बाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्