साढे पाँच किलो चरेशसहित एक पक्राउ



जाजरकोट, (नेस)
जाजरकोट प्रहरीले साढे पाँच किलो लागूऔषध चरेशसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ। बाँके नेपालगन्ज उपमहानगरपालिका–२ का इन्द्रमणि गौतमलाई पाँच किलो सात सय ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो। जाजरकोटको भेरीमालिका नगरपालिका–१ रिम्ना बजारदेखि नेपालगन्जतर्फ लैजाने क्रममा नेपालगन्जको पुष्पलालचोकमा होटल व्यवसाय सञ्चालन गरेका गौतमलाई लागूऔषध चरेशसहित पक्राउ गरेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले जानकारी दिनुभयो।

सिमीको दालको बोराभित्र चरेश राखेर नेपालगन्जतर्फ लैजान लागेको अवस्थामा विशेष सूचनाको आधारमा गौतमलाई पक्राउ गरेको डीएसपी रिमालले बताउनुभयो। गौतमलाई लागूऔषध कारोबारअन्तर्गतको मुद्दा चलाउने तयारी भइरहेको उहाँको भनाइ छ। लागूऔषध कारोबारीबारे थप अनुसन्धान भइरहेको रिमालको भनाइ छ। लागूऔषध चरेशको कारोबारीमा संलग्न अन्यको खोजी भइरहेको छ। जिल्लाको ग्रामीण भेकमा गाँजाखेती गरी चरेश उत्पादन गर्ने र गाउँमै प्रतिकिलो चरेसको २० हजारसम्म कारोबार हुने गरेको छ।

जिल्लामा एक महिना यता मात्र करिब १५ केजी चरेशसहित चार जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीले जाजरकोटमा ठूलो परिमाणमा चरेश र ब्राउन सुगर अफिमको कारोबार हुने सूचनाको आधारमा लागूऔषध नियन्त्रण विशेष अभियान सञ्चालन गरिरहेको रिमालले बताउनुभयो। जिल्लामा स्थानीयको विशेष सूचना र सहयोगले हालसम्म सञ्चालन भएका मिसनहरू सफल भएको डीएसपी रिमालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्