मधेशी दलहरू आन्तरिक प्रशिक्षणमा जुटे



बीपी साह, काठमाडौं
सत्तारुढ र प्रतिपक्षी दलले पुरानै संरचनाअनुसार निर्वाचनको तयारी गरिरहँदा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि पुरानै संरचनाअनुसार निर्वाचनको तयारीमा जुटेको छ। संविधान संशोधन नभए कुनै पनि चुनाव हुन नदिने अडान लिएका मोर्चाका नेताहरू केन्द्रमा संशोधन प्रस्तावलाई परिमार्जन गरी पारित गराउने पक्षमा छन् भने जिल्लास्तरमा चुनावको तयारी र संगठन सुदृढीकरणमा जुटेका छन्।

मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालले माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्दै चुनावका लागि मैदान तयार गरिरहेको छ। जसका लागि अध्यक्ष उपेन्द्र यादव पूर्वपश्चिम यात्रा गर्दै छन् गर्दै हुनुहुन्छ। अहिले पूर्वका जिल्लामा फोरम केन्द्रित रहेको छ। मोर्चाको अर्को घटक तराई मधेस लोकतान्त्रिक पार्टी मध्यमधेश र पश्चिम मधेसमा केन्द्रित रहेको छ। तमलोपाले नवलपरासी, कपिलबस्तु, बारा र पर्सामा कार्यक्रमहरू तीब्र रूपमा गर्दै छ। पार्टी प्रवेशसँगै चुनावी तयारी पनि तमलोपाले गर्दै छ।

मोर्चाको तेस्रो घटक सद्भावना पार्टी पनि चुनावी तयारीमा जुटेको छ। पुस १५ गतेदेखि जनकपुरधामबाट विशेष कार्यक्रम थाल्दै छ। सद्भावनाले यसअघि मधेशका मुख्यमुख्य शहरमा पार्टी प्रवेश तथा प्रक्षिण कार्यक्रम आयोजना गरेको छ। चुनावलाई मध्यनजर गरी मोर्चा आवद्ध अन्य दलहरू तराई मधेस सद्भावना पार्टीले सर्लाही जिल्ला केन्द्रित कार्यक्रम गरेको छ भने राष्ट्रिय मधेस समाजवादी पार्टीले महोत्तरी र धनुषामा कार्यक्रम गर्दै छ। नेपाल सद्भावना पार्टी पर्सालगायतका जिल्लामा कार्यक्रम गरिरहेको छ।

फोरम नेपालका महासचिव रामसहाय यादवका अनुसार फोरमले माघ मसान्तसम्ममा जिल्ला अधिवेशन सम्पन्न गर्नेछ भने फागुनसम्ममा प्रदेश र वैशाखमा केन्द्रीय अधिवेशन गर्ने तयारी गर्दै छ। उहाँले अहिले महाधिवेशनसँगै चुनावी कुरामा पनि ध्यान दिइएको बताउनुभयो। तर, यादवले चुनावभन्दा पनि संविधान संशोधन प्रस्तावका विषयमा प्रशिक्षण भइरहेको जनाउनुभयो।

यता तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलका अनुसार संविधान कार्यन्वयनका लागि निर्वाचन आवश्यक छ। निर्वाचनले संविधानलाई जीवन्तता दिने बताउँदै सोनलले भन्नुभयो– ‘हामीले यत्रो लामो संघर्ष गरेर गणतन्त्र ल्यायौं, यसलाई संस्थागत गर्न संविधान कार्यान्वयन आवश्यक छ। तसर्थ अब निर्वाचनमा जानुपर्छ। तर संविधान मधेशी जनतालाई पनि स्वीकार हुने गरी संशोधन हुनुपर्छ।’ सोनलका अनुसार तमलोपा पार्टी सुदृढीकरणमा लाग्नुका साथै निर्वाचनको तयारी पनि गर्दै छ।

सद्भावनाका प्रवक्ता संतोष मेहताले चुनावकै लागि तयारी नभए पनि क्षेत्रहरूको सुधार भइरहेको बताउनुभयो। उनले संविधानको बाध्यात्मक परिस्थितिका कारण चुनाव हुनैपर्ने भएकाले चुनावको तयारी पनि सँगै भइरहेको जनाउनुभयो। उहाँले आन्दोलनलाई थप सशक्त बनाउने विषयमा पनि जिल्लाहरूमा कार्यक्रम भइरहेको र संगठन सुदृढीकरणसमेत भइरहेको बताउनुभयो। मेहताले कुनै बेला चुनाव हुन सक्ने सम्भावनाको मध्यनजर गर्दै पार्टी चुनावी तयारीमा समेत रहेको जनाउनुभयो।

यता श्रोतका अनुसार सत्तारुढ दलका शीर्ष नेताहरूले पुरानै संरचनाअनुसार निर्वाचनमा जान मोर्चालाई आग्रह गर्दै आएका छन्। मोर्चाले पहिले संविधान संशोधन भए मात्र निर्वाचनमा जाने अडान लिएको छ। श्रोतका अनुसार सत्तारुढ दलले संविधान संशोधन गरेको खण्डमा मोर्चा पनि पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचनमा जान तयार हुनेछ। जसका लागि मोर्चा पनि चुनावी तयारीमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस्