पारस चम्किँदा एपीएफ विजयी



नेपाल समाचारपत्र
विराटनगर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काले प्रतियोगिताकै पहिलो शतक हानेका छन्। पारस चम्किँदा आइतबार सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिमाञ्चललाई १ सय ४४ रनको विशाल अन्तरले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय रन जोडेको थियो। टोली कप्तान पारसले ४३ बलमा ८ छक्का र ९ चौका प्रहार गरी नटआउट १ सय ५ रन बनाए।

त्यस्तै सुवास खकुरेलले ५१ बलमा ६ चौका प्रहार गरी अविजित ६४ रनको योगदान गरेका थिए। पारस र सुवासले पाँचौं विकेटका लागि ७१ बलमा १ सय ५१ रनको अविजित साझेदारी गरेका थिए। सुदूरका दिनेश एैरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएका थिए।

जवाफमा २ सय १ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चलले निर्धारित ओभरमा ६ विकेट गमाई ५६ रनमात्र जोड्न सक्यो। एपीएफका वसन्त रेग्मीले ३ ओभरमा १ मेडनसहित १० रन दिएर ३ विकेट लिए। बैजनाथपुरको खेल मैदानमा भएको पहिलो खेलमा भने पश्चिमाञ्चलले मध्यमाञ्चललाई ६ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २७ रनको योगफल बनायो। पश्चिमाञ्चलका दिपेश खत्रीले ४७ बलमा २ छक्का र ३ चौकाको प्रहार गरी ५३ रन बनाए। मध्यमाञ्चलका रसिद खानले ४ ओभरमा १५ रन दिए ५ विकेट हासिल गरेका थिए।

जवाफमा मध्यमाञ्चलले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय २१ रन मात्र जोड्न सक्यो। मध्यमाञ्चलका जितेन्द्र ठकुरीले २९ बलमा २ छक्का र २ चौका गरी अविजित ४४ रन बनाए पनि खेल जित्नका लागि पर्याप्त हुन सकेन्।

सुटिङमा मध्यपश्चिम अगाडि
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो दिन सुटिङअन्तर्गतको खेलमा पुरुष राइफलतर्फ मध्यपश्चिमाञ्चलका अर्न घिमिरे ५ सय ४९ अंकका साथ अग्रस्थानमा छन्। नेपाली सेनाका सुके चौधरीले ५ सय ४० र मध्यपश्चिमाञ्चलकै प्रतीक कुँवरले ५ सय ३३ जोडेका छन्। पूर्णाड्ढ ६ सय रहेको पुरुष पेस्तोलतर्फ मध्यपश्चिमाञ्चलका दीपेश खड्का ५ सय ३८ अंकका साथ अग्रस्थानमा छन्। नेपाली सेनाका पूर्णकुमार श्रेष्ठ ५ सय २० अंकका साथ खड्कालाई पछ्याइरहेका छन्।

यस्तै महिला राइफलमा नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी ३ सय ८० अंकका साथ अग्रस्थानमा रहेकी छिन्। नेपाल प्रहरीकै अस्मिता राईले ३ सय ७६ अंकका साथ क्याप्छालाई पछ्याइरहेकी छन्। त्यसै गरी महिला पेस्तोलमा मध्यपश्चिमाञ्चलकी कृष्णा थापा ३ सय ६२ अंकका साथ खेलमा अग्रस्थानमा छिन्। मध्यमाञ्चलकी संगीता कार्कीले ३ सय ५१ अंक ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस्