आत्मनिर्भरपछि शुद्ध दुग्ध उत्पादन अभियान



मोतीराम तिमल्सिना, काभ्रे

दुध उत्पादनमा आत्मनिर्भर भएको काभ्रेपलाञ्चोक जिल्लालाई स्वच्छ तथा गुणस्तरीय दुध उत्पादनमा देशकै नमुना बनाउन सरोकारवालाहरूबीच छलफल भएको छ। दैनिक २ लाख लिटर दूध जिल्लाबाट बाहिर बिक्री हुने गरेको छ। दैनिक ३ हजार ७ सय लिटर दूध संकलन गर्दै आएको सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था रविओपीले आयोजना गरेको छलफलमा कृषकले गुणस्तरीय दुग्ध उत्पादनबाट भएका फाइदा, त्यसको निरन्रतरता र चुनौतीका बारेमा जिज्ञासा राखेका थिए। ८ सय ११ जना कृषक रहेको उक्त सहकारीमा ४ सय ९३ कृषकले गुणस्तरीय दुग्ध उत्पादनमा कृषकले अपनाउनु पर्ने प्रक्रिया र जिम्मेवारीका बारेमा तालिम लिएका छन्। सामर्थ–फरवर्ड नेपालले उपलब्ध गराएको तालिम पश्चात संस्थामा कार्यरत कर्मचारी तथा संकलन केन्द्रबाट चिस्यान केन्द्रसम्म दूध ढुवानी गर्ने ढुवानीकर्तालाई दूधको संकलन, ढुवानी तथा दूध चिस्याउने प्रक्रियाका बारेमा जानकारी गराइएको थियो। दूध राखिएका सबै भाँडाहरू झोल साबुनले माझ्ने, दूध छान्ने जाली वितरण गर्दै वस्तुको कल्चौंडादेखि दूध चिस्यान केन्द्रसम्म दूध गुणस्तरीय बनाउन विभिन्न पक्षको भूमिकाका बारेमा जानकारी गराइएको थियो।

सेतीदेवी सहकारीले दूध शुद्धीकरणका लागि ७ लाख बराबरको भौतिक सुधार तथा उपकरण खरिद गरिएको अध्यक्ष चर्तुभुज तिमल्सिनाले बताउनुभयो। दूध ढुवानीका भाँडा परिवर्तन, कृषकलाई स्वं मूल्यांकन रेकर्ड सहितको रजिस्टर वितरण, कृषकको घर दैलोमा पुगी पशु स्वास्थ्य, आहार, गोठको सरसफाई तथा दूध उत्पादनमा सरसफाईका लागि आवश्यक उपकरणको अनुमगन समितिबाट तालिम, मुल्यांकन र परीक्षण गराइएको छ। बार्षिक रूपमा दूध शुद्ध र गुणस्तरीय उत्पादनका लागि निरन्तरता दिन संस्थाले बार्षिक १ लाख कोषको व्यवस्था गरेको छ। कृषकले दूध शुद्ध राख्न गोठ सुधार कार्यक्रमलाई प्रभावकारी बनाउँदै कृषकको चेतनामा वृद्धि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा सहकारीका अध्यक्ष चर्तुभुज तिमल्सिना, पुर्वअध्यक्ष टीकाबल्लभ सापकोटा, जिल्ला पशु सेवा कार्याृलयका प्रमुख डा. नारायणबहादृुर श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालयका थर्कबहादुर जिसि, दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा, जिल्ला अध्यक्ष नारायण बडाल, दूध चिस्यान केन्द्रका संकलक राजेन्द्र अधिकारी, चिस्यान केन्द्र बनेपाका प्रमुख दिनेशराज जोशी, डेरी विशेषज्ञ राजेन्द्रकुमा श्रेष्ठ, सामर्थ नेपालका डा. कृष्ण पौड्याल लगायतले दुध शुद्ध बनाउने अभियानका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्