नेपाल एसबीआई बैंकको एफपीओ आयो सिनर्जी पावरको म्याद एक दिन थप



नेपाल समाचारपत्र
काठमाडौं

नेपाल एसबीआई बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) का लागि आवेदन खुला गरेको छ। बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपीओ प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा ८७१ रुपियाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपियाँको दरले बिक्री खुला गरेको हो।

बैंकको एफपीओ पुस ११ गतेदेखि छिटोमा पुस १३ गते तथा ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने छ। पुस १० गते जारी गर्ने भनिएको एफपीओ बिदा भएका कारण सोमबारका लागि सरेको थियो। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। शेयर आवदेकले न्यूनम् १० कित्ता (९ हजार ७ सय १०) र अधिकतम् ६७० कित्ता (६ लाख ५० हजार ५ सय ७०) रुपियाँसम्मको आवेदन दिन पाउने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ।हाल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपियाँ चुक्ता पुँजी रहेको मा एफपीओ जारी गरेपछि बैंकको चुक्ता पुँजी ६७ लाख रुपियाँले बढ्ने छ भने बाँकी ६ करोड रुपियाँ प्रिमियम रकम जगेडा कोषमा रहने बैंकले जनाएको छ।

भारतको स्टेट बैंक अफ इण्डियाको बहुमत शेयर लगानी रहेको बैंकले गत बर्षको मुनाफाबाट २८ प्रतिशत बोनस दिने निर्णय गरेको छ। जसबाट बैंकको पुँजी ४ अर्ब ९७ करोड ११ लाख रुपियाँको हाराहारीमा पुग्नेछ। चालू आवको पहिलो तीन महिनामा बैंकले ३५ करोड रुपियाँ खुद नाफा कमाएको छ भने यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपियाँ, नेटवर्थ १ सय ८८ रुपियाँ रहेको छ। एफपीओका लागि एनएमबी बैंक, नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेड तथा नेपाल एसबीआई बैंकमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

यसैबीच सिनर्जी पावरले निष्काशन गरेको साधारण शेयरको म्याद एक दिन थप गरेको छ। आइतबार सार्वजनिक बिदा परेको हुँदा बिक्री समय एक दिन बढाएको हो। २१ लाख कित्ता शेयर आवेदन खोलेको कम्पनीमा आवेदन खुलेको पहिलो दिन नै दुई गुणाभन्दा बढी आवेदन परेको थियो। पहिलो दिन करिब ४० करोड रुपियाँको ६ हजार ५ सय आवेदन परेको धित्तोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल जनाएको छ।

निष्काशन हुने कुल २१ लाख कित्तामध्ये ३ प्रतिशत शेयर कर्मचारी ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्टाएपछि बाँकी हुन आउने १९ लाख ३२ हजार कित्तालाई सर्वसाधारणले आवेदन गर्न सक्नेछन्। कम्पनीमा न्युनतम् ५० कित्तादेखि अधिकतम् २१ हजार कित्तासम्म आवेदन दिन सकिने छ। ७० करोड चुक्ता पँुजीमध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखाका स्थानीयबासीलाई बिक्री गरिसकेको छ। बाँकी ३० प्रतिशत सर्वसाधारणको लागि बिक्री खुला गरेको हो। कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपियाँ रहेको छ।

उता अरूण काबेली हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी गरेको ३० लाख कित्ता प्राथमिक निष्काशन (आइपीओ) मा नपरेको पैसा सोमबारबाट मात्रै फिर्ता गर्ने भएको छ। आइतबार विदा परेकाले एक दिन पछि सरेको कम्पनीले जनाएको छ । तर, एनआईसी एसिया, सिद्धार्थ बैंक, जनता बैंक र कुमारी बैंकमा खाता रहेका लगानीकर्ताहरूको भने खातामै रकम फिर्ता हुने छ।

नेपाल धितोपत्र बोर्डका अनुसार विभिन्न कम्पनीहरूले साधारण शेयर जारी गर्नका बोर्डमा निवेदन दिएका छन्। शेयर ल्याउन लागेका कम्पनीहरूमा युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड २५ लाख रुपियाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण शेयर आउने भएको छ। आँखुखोला जलविद्युत कम्पनीले ८ करोड रुपियाँ बराबरको ८ लाख कित्ता साधारण शेयर स्थानीयका लागि ल्याउने भएको छ।

त्यस्तै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ करोड बराबरको ६ लाख कित्ता साधारण शेयर आउँदै छ। त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनीले पनि स्थानीयहरूकै लागि ३ करोड ६८ लाख १४ हजार ३ सय रुपियाँ बराबरको ३ लाख ६८ हजार १ सय ४३ कित्ता ल्याउन लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

त्यसैगरी रादी विद्युत् कम्पनीले पनि शेयर निष्काशन गर्दैछ। यस कम्पनीले ४ करोड १० लाख रुपियाँ बराबरको ४ लाख १० हजार कित्ता साधारण शेयर ल्याउन लागेको छ। साथै गर्जाङ उपत्यका हाइड्रोपावरले स्थानीय बासिन्दाको लागि २ करोड रुपियाँ बराबरको २ लाख कित्ता साधारण शेयर जारी गर्ने तयारी रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स र महाकाली विकास बैंकले पनि सर्वसाधरणको लागि एफपीओ जारी गर्ने भएका छन्। ती कम्पनीहरूले क्रमशः ३० लाख ९६ हजार ४ सय २९ कित्ता तथा २ करोड ३६ लाख ३६ हजार ७ सय ५३ कित्ता एफपीओ जारी गर्ने भएका हुन्। यी दुई कम्पनीलाई बोर्डले शेयर निश्कासनका लागि स्वीकृति पनि दिइसकेको छ।

त्यसैगरी समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ९४ लाख ८० हजार रुपियाँ बराबरको ९४ हजार ८ सय कित्ता शेयर, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको पनि क्रमशः एक करोड २० लाख रुपियाँ बराबरको १ लाख २० हजार कित्ता शेयर र तीन करोड रुपियाँ बराबरको ३ लाख कित्ता साधारण शेयर आउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्