सरिफलाई मोदीको जन्मदिनको शुभकामना



नयाँ दिल्ली, (एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी नवाज सरिफलाई जन्मदिनको शुभकामना दिएपछि सामाजिक सञ्जालहरूमा त्यसको प्रतिक्रियाको बाढी आएको छ। मोदीले ट्विटमा लेखे– ‘पाकिस्तानका प्रधानमन्त्री जनाब नवाज सरिफलाई जन्मदिनको शुभकामना। उनको दीर्घायु र स्वस्थ जीवनको कामना गर्दछु।’ सरिफले डिसेम्बर २५ मा आफ्नो जन्म दिन मनाए।

उनको ट्विटलाई सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले रिट्विट गरेको छ। तर भारतीय सामाजिक सञ्जालमा धेरै उनको ट्विटलाई मन पराएको देखिएन।
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले लेखे– ‘पर्याप्त तयारीविना नोटबन्दी लागू गरेका कारण १ सय ५ जनाको मृत्यु भयो। उनका परिवारका लागि सान्त्वनामा केही शब्द अवश्य लेख्नु। तपाईंलाई थाहा छ, उनीहरूको मृत्यु कसरी र किन भयो?’

दीपक कौशिक नामको एक ट्विटरले पोस्टमा व्यंग गर्दै लेखे– ‘अब सोच्नुस् यदि यो कामना कुनै अमिर शाहरूख वा सलमानले गरेको भए उनीहरू त अहिलेसम्ममा देशद्रोही बनिसक्थे।’

यही आशयमा धेरैले ट्विट तथा फेसबुकमा टिप्पणीहरू पोस्ट गरेका छन्। पीके नामका एक ट्विटर प्रयोगकर्ताले लेखे– ‘तपाईंले मुहम्मद अली जिन्नालाई जन्मदिनको शुभकामना दिन बिर्सनुभयो।’ केहीले यसलाई प्रधानमन्त्रीको कूटनीतिका रूपमा लिएका छन् र त्यसले देशको छवि विश्वमा राम्रो हुने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्