भू–अखण्डतामा खतराः बिजुक्छे



भक्तपुर, (नेस) नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र भू अखण्डता खतरामा परेको बताउनुभएको छ।

नेपाल क्रान्तिकारी किसान सङ्घको छैठौं भक्तपुर जिल्ला सम्मेलनको आइतबार दत्तात्रयमा उद्घाटन गर्नुहुँदै अध्यक्ष बिजुक्छेले हालसम्म सत्तामा गएका दलका नेताहरूले भारतसामू घुँडा टेकेको आरोप लगाउनुभयो। जनता सचेत भए मात्र देश जोगिने बताउँदै उहाँले विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्नका निम्ति नेपाली जनता तयार रहनुपर्नेमा जोड दिनुभयो।

किसानहरूले राम्ररी खेतीपाती गर्न जानेर मात्र नपुग्ने र देशको नीति निर्णयबारे समेत जानकारी राख्नुपर्नेमा जोड दिदैं अध्यक्ष बिजुक्छेले देशहित विरुद्ध निर्णय गर्ने र देशलाई विदेशीको हातमा सुम्पने विरुद्ध सचेत हुनुपर्ने बताउनुभयो। किसानको हकहितबारे आजसम्मका सरकारले नसोच्दा किसानहरू कृषि पेशाबाट टाँढिदै गएको र युवाहरू देश छोडेर विदेसिएको उहाँले बताउनुभयो।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलोपटक बालुवाटार प्रवेश गर्दा नेपाली सेना एक डेढ लाख आवश्यक छैन, १०–२० हजार भए पुग्ने कुरा गरेको र अहिले उनी प्रधानमन्त्री छँदा नेपाली सेना भारतीय सेना मातहात लाने कुरा आउनु काकताली मात्र हुन नसक्ने अध्यक्ष बिजुक्छेले बताउनुभयो।

कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका अध्यक्ष एवं सांसद दिल्लीप्रसाद काफ्लेले सरकारले मुक्तिको नाममा भूमिहीन किसानका रूपमा कमैया र हलियाहरूलाई मोहियानी हकबाट वञ्चित गरेको बताउनुभयो।

नेमकिपाका भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापा श्रेष्ठ, नेक्राकिसङघका भजिसका अध्यक्ष गोविन्दा दुवाल, नेक्राकिसङघ काभे्रका जिल्ला अध्यक्ष क्रृषिराम दुलाल, नेक्राशिसङघ भक्तपुरका जिल्ला अध्यक्ष जगनाथ सुजखु, नेक्रामजदुर सङघ भजिसका प्रतिनिधि विष्णुराम दुमरु, नेक्रायुसङघ भक्तपुरका अध्यक्ष मिनबहादुर बाटा, नेक्रविसङघ भक्तपुरका अध्यक्ष रमेश प्रजापति र नेक्रासांसङ्घ भक्तपुरका अध्यक्ष बालकृष्ण वनमाला, नेक्राकिसङघका भजिसका उपाअध्यक्ष केशवप्रसाद तिमलसिना र सचिव सूर्यबहादुर सैंजूले किसानका समस्या देशको मूल समस्या हुदाँहुदै पनि किसानको हितमा कुनै सरकारले काम नगरेको बताउनुभयो।
उद्घाटन समारोहपूर्व विभिन्न बाजागाजा टोलीसहितको सयौं किसानहरूको सम्मिलित र्याली भक्तपुर नपा १७ भर्वाचोबाट शुरु भई नगर परिक्रमा गरी उद्घाटन समारोहस्थल पुगेको थियो। सम्मेलनको बन्दसत्र सोमबार हुँदै छ।

प्रतिक्रिया दिनुहोस्