काग्रेस पदाधिकारी बैठक –चुनावमा नगए मुलुक दुर्घटनामा पर्ने ठहर



रामृकष्ण चापागाई काठमाडौं

सीमांकन हेरफेर सहित संविधान संशोधनको प्रस्ताव आएसंगै विथोलिदै गएको राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थावारे छलफल गर्दै काग्रेसका नेताहरुले तत्काल स्थानिय निर्वाचनलाई प्राथमिकतामा राखेर तत्काल तयारीका साथ अघि नबढे मुलुकमा ठुलो दुर्घटना निम्तन सक्ने औल्याएका छन् ।

संविधान कार्यान्वयनको लागि निश्चित समय सीमाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भन्दै काग्रेस नेताहरुले संविधान संशोधनको विषयले मुलुकमा निर्वाचन नहुने अवस्था पैदा हुन लागेको आशंका पनि गरेका छन् । पार्टी सभापति शेरवहादुर देउवाको अध्यक्षतामा आइतवार बसेको पुर्व तथा वर्तमान पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकमा निर्वाचनलाई प्राथमिकता दिएर अघि नबढे मुलुक दुर्घटनामा जाने औल्याइएको हो । बैठकमा पार्टीको आन्तरीक गतिविधिमा सभापति देउवा निष्कृय रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि समेत प्रकट गर्नुभएको थियो ।

बैठकबारे जानकारी दिदै काग्रेस वरिष्ठ नेता पौडेलले भन्नुभयो– संविधान संशोधनका नाममा मुलुकमा निर्वाचन नहुने स्थिति पैदा हुन लागेको भन्दै नेताहरुले संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएका थिए । साथै, अधिकाशं पदाधिकारीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह पनि गरेका छन् । काग्रेस बैठकले आज सोमबार पनि बस्ने भएकोले औपचारिक निर्णय भने गरेको थिएन ।

बैठकले स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैतमा चुनाव हुनुपर्ने सुझाव आएको बताउदै महामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधन बिधेयक थाति राखेर भए पनि चुनाव घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बताउनु भएको थियो । एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले संशोधन बिधेयक थाति राखेर निर्वाचनमा जानु उपयुक्त हुने उहाको भनाई थियो ।

पुरानो संरचनामा भएपनि नया संरचनामा भएपनि स्थानिय निकायको निर्वाचन समयमै हुनुपर्छ भन्दै बैठकमा राखिएको धारणाबारे काग्रेस नेता डा. रामशरण महतले नेपाल समाचारपत्रसंग भन्नुभयो– संविधान संशोधनको विषय संसदबाटै टुङ्गाउनु पर्छ संसद अवरुद्ध गर्नु हुदैन । पुरानो संरचनामा भए स्थानीय निकायको निर्वाचन समयमै सम्पन्न गर्न सकिने तथा नया संरचनामा भए समयमै स्थानीय निर्वाचन गर्न नसकिने उहाको भनाई थियो ।

५ नम्बर प्रदेशको सीमा विवादबारे जनमतको धारणा अनुसार नै टुङ्गाउनु पर्ने भन्दै उहाले बैठकमा सबै नेताहरुको एउटै धारणा शिघ्र निर्वाचनको पक्षमा भएको बताउनु भएको थियो । ‘स्थानीय तह भएपनि स्थानीय निकाय भएपनि तत्काल निर्वाचन हुनुपर्छ’ बैठकमा सहभागी डा. मिनेन्द्र रिजालले भन्नुभयो– अहिलेको मुख्य कुरा भनेको संविधान कार्यान्वयन हो ।

बैठकमा काग्रेसका वरिष्ठ नेता पौडेलले सभापति देउवाले प्रभावकारी रुपमा पार्टी सञ्चालन गर्न नसकेको भनि आलोचना पनि गर्नुभएको थियो । विधान अनुसार पदाधिकारी तथा बाकि केन्द्रिय सदस्य मनोनित गर्न नसक्नु, केन्द्रिय विभागहरु गठन गरि जिम्मेवारी बाडफाड गर्न नसक्नु सभापति देउवाको कमजोरी रहेको भन्दै उहाले आन्तरिक रुपमा पार्टीलाई एकढिक्का बनाउनु पर्नेमा सभापतिले उल्टै गुटवन्दी गरेको आरोप पनि लगाउनु भएको थियो । काग्रेसबाट सरकारमा सामेल भएका मन्त्रीहरुको कार्यशैली पनि ठिक नभएको वरिष्ठ नेता पौडेलको भनाई थियो ।

काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिएअनुसार बैठकमा संविधान संशोधन र निर्वाचनको बारेमा छलफल भइरहेको छ । बैठकमा सभापति देउवाले संविधान संशोधन नगरी मधेसी मोर्चा चुनावमा आउने सम्भावना नरहेकाले एमालेले हठ नछाड्दा समस्या उत्पन्न भएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्