खोटाङमा १४ प्रतिशतले सुन्तला उत्पादन बढ्यो



रामधन राई, खोटाङ । खोटाङमा यो वर्ष अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । असिना पानी तथा अन्य दैबीप्रकोपले क्षति नपुर्याउनुका साथै अनुकुल समयमा वर्षा हुनु तथा अन्य प्रकोप नलाग्नुका कारण यो वर्ष सुन्तला उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

गत वर्ष १ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा ९ हजार ९ सय ८५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष ५५ हेक्टर बढी क्षेत्रफलमा ११ हजार ३ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उत्पादित सुन्तलामध्ये मंसिर अन्तिमसम्म करिब ७८ लाख बराबरको सुन्तला बिक्रि भईसकेको जनाईएको छ । स्थानीय बजारहरुमा हाल प्रतिगोटा ५ रुपियाँ तथा प्रति केजी ४० देखि ६० रुपियाँसम्ममा किनबेच भईरहेको जिल्लामा उत्पादित सुन्तला उदयपुरको गाईघाट, बेल्टारहुँदै ईटहरी, धरान, बिराटनगरलगायतका सहरमा प्रयाजसो ठेकेदारमार्फत पु¥याईने गरिएको किसानहरु बताउँछन् ।

जिल्लाका लामिडाँडा, याम्खालगायतबाट सुन्तला जिल्ला बाहिर निर्याता गरिएको छ । उपयुक्त सडक तथा यातायातको अभाबमा जिल्लामा उत्पादितमध्ये ४५ प्रतिशत सुन्तला मात्र बजारसम्म पुग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्