पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमवीवीएस परीक्षाको नतिजा रद्ध



 

(भगवती तिमल्सिना)
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनको लागि गत कार्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो दुवै नतिजासूचीलाई स्वास्थ्य मन्त्रालयले बदर गर्न निर्देशन दिएको छ । प्रतिष्ठानले गत मंसिर १५ र १७ गते प्रकाशित गरेको नतिजासूची विवादित भएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरि छानविन गरेको थियो ।
नतिजासूची प्रकाशित गर्दा कोडिङ तथा डिकोडिङका क्रममा गम्भीर त्रुटी तथा लापर्वाही गरेको ठहर सहितको प्रतिवेदन छानविन समितिले बुझाएपश्चात मन्त्रालयले दुवै नतिजासूची बदर गर्न निर्देशन दिएको हो । त्रुटिपूर्ण नतिजाका लागि जिम्मेबार पदाधिकारी तथा कर्मचारीलाई आवश्यक कारबाही गर्न प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सहकुलपति एवं स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिफारिस गर्नुभएको छ ।
मन्त्रालयले यस पटकको लागि प्रथम चरणको परीक्षामा सम्मिलित सवै अर्थात् १ हजार ७ सय ६९ जना परीक्षार्थीलाई बँकी परीक्षामा सहभागी गराई मेरिट प्रणालीका आधारमा विद्यार्थी छनौट गर्न समेत निर्देशन दिएको छ । परिक्षाको निश्पक्षता, स्वतन्त्रता एवं बस्तुनिष्ठता कायम राख्न पूर्वशिक्षा सचिव दीपेन्द्रविक्रम थापाको संयोजकत्वमा कानुनविद् विजय मिश्र र परीक्षाविद् सीताराम बुढाथोकी रहेको तीन सदस्यीय परीक्षा अनुगमन तथा समवन्य समिति गठन गरिएको छ ।

समितिलाई परीक्षाको बाकी प्रक्रियाको अनुगमन र समन्वय गर्न तथा समग्र परीक्षा प्रणालीको अध्ययन अनुसन्धान गरी प्रतिवेदन दिने जिम्मेबारी तोकिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । एमविविएस प्रवेश परिक्षाको गहनता, समयको सिमितता, शैक्षिक सत्रमा पर्न सक्ने प्रभाव र सयौं विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दैै मन्त्रालयले निकास दिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । प्रतिष्ठानले हरेक शैक्षिक सत्रमा ६० जनालाई एमबीबीएस पढाउदै अँएकोछ ।

प्रतिक्रिया दिनुहोस्