औषधि र कर्मचारीको अभावले सास्ती



पाँचथर, ग्रामीण स्वास्थ्य संस्थामा औषधि र दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

अधिकांश गाविसका उपस्वास्थ्य चौकीमा अहिले औषधिको अभाव भएको कार्यालयका कर्मचारी बताउँछन् । ग्रामीण भेगका स्वास्थ्य संस्थामा ४३ प्रकारका औषधि निःशुल्क रुपमा बिरामीलाई वितरण गरिनुपर्ने भए तापनि अहिले औषधि पर्याप्त मात्रामा नभएको सराङडाँडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बस्नेतले बताउनुभयो ।

जिल्लाका स्वास्थ्य संस्थामा तीन सय १७ दरबन्दी भए पनि अहिले एक सय दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्था परिचर र अहेवका भरमा सञ्चालन भइरहेको सेवाग्राही बताउँछन् ।

यस्तै लिम्बा स्वास्थ्य चौकीका अनमी कविता खिमले छ जनाको दरबन्दी भए पनि तीनजना कर्मचारीले मात्रै कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो । जिल्ला अस्पतालका प्रमुख डा पवनकुमार शाहले बोलपत्र आह्वानको प्रक्रियाका कारण औषधि प्राप्तिमा ढिलाइ भएको बताउँदै अब एक हप्ताभित्र आइसक्ने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्