प्याड बनाउने तालिम माग



डोटी, (नेस) । डोटीको पश्चिमी क्षेत्रमा पर्ने राधाकृष्ण मावि गोपघाटमा रेखा बलायर ९ कक्षामा पढ्दै छिन्। सहपाठीहरूले उनलाई कक्षाको नेता बनाएका छन्। त्यसैले होला, सहपाठीहरूका एक एक समस्या, सुखदुःख उनले बुझेकी छिन्। सहपाठीहरूको तर्फबाट विद्यालयको अनुगमन गर्न सदरमुकामबाट आएको सर्वपक्षीय टोलीसँग बेग्लै माग राखिन्। उनले छात्रालाई महिनावारी हुँदा चाहिने प्याड बनाउने तालिमको माग गरिन्। प्याड नहुँदा विगतमा थुप्रै छात्राले पढाइ छोडेर घर जानुपरेको, पढाइमा असर परेको नमीठो दुःखेसो टोली सामु पोखिन्।

छात्राहरूले नै विद्यालयले राखेको सुझाव पेटिकामा प्याडको माग राख्दै उजुरी हालेपछि विद्यालयले बजारबाट प्याड खरिद गरेर उपलब्ध गराउँदै आएको छ। तर विद्यालयमा प्याड फेर्ने कोठा, प्रयोग भएका प्याड नष्ट गर्ने ठाउँ नहुँदा उनीहरूले प्याड बनाउने तालिमको माग गरेका हुन्। ‘प्याड भयो भने हामी घरबाटै लगाएर आउन सक्छौं, विद्यालयमा झन्झट हुन्न’, बलायरले आफ्ना माग राख्नुको कारण खोलिन्– ‘विद्यालय र हामीलाई आर्थिक भार पनि पर्दैन, घरका अरू सदस्यले पनि त्यसको उपयोग गर्न पाउँछन्।’
सुदूरपश्चिमका कतिपय क्षेत्रमा महिनावारीका बेला हुने छाउपडी प्रथाका कारण ज्यानसमेत गएको अवस्थामा डोटीका सामुदायिक विद्यालयका छात्राहरू भने सरसफाइ र सुरक्षामा सचेत हुन थालेका छन्।

‘पहिले महिनावारी भएको विषयमा घरकै सदस्यहरूलाई पनि भन्न सक्दैन थियौं, यस्तो बेला छुट्टै सुत्ने, भान्सा पानी र मानिसलाई नछुने जस्ता व्यवहार गरेपछि मात्र थाहा पाउथे’, राधाकृष्ण माविकी सरस्वती बलायरले भनिन्– ‘तर अहिले हामी कम्तीमा आफ्नो सरसफाइ र सुरक्षाका लागि परिवार र विद्यालयमा कुरा राख्न सक्ने भएका छौं।’ राधाकृष्ण माविमा मात्र नभएर विभिन्न माध्यमबाट छात्राले प्याड बनाउने तालिमको माग गरिरहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक गोपाल जोशीले जानकारी दिनुभयो। विशेष गरी सुझाव पेटिकामा उजुरी गरेर थुप्रै विद्यालयका छात्राहरूले यस्तो तालिमको माग गरेको उहाँको भनाइ छ।

जिल्लामा जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा गठन भएको बालिका शिक्षा तथा लैंगिक सम विकास सञ्जालले डोटीका छात्राहरूको विद्यालयमा उपस्थिति कम हुने कारणबारे अध्ययन गर्न जिल्लाभरिका माविहरूमा सुझाव पेटिका राख्ने रणनीति गरेको थियो। सुझाव पेटिकामा अधिकांश छात्राले छाउपडी प्रथालाई मुख्य कारण रहेको भन्दै उजुरी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्