युवा नेत्र सेवाको २०औं वार्षिकोत्सव सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
युवा नेत्र सेवाको २०औं वार्षिकोत्सव शनिबार काठमाडौंस्थित थाई दूतावासका प्रतिनिधि पास्वत याथेपले उद्घाटन गर्नुभयो। उक्त कार्यक्रममा प्राडा रामप्रसाद पोखरेल, समाजसेवी मोहनदेवी श्रेष्ठ र प्रेम तामाङलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो। कार्यक्रमका अतिथिहरूमा समाज कल्याण परिषद्का उपनिर्देशक सञ्जयकुमार मल्लिक, डा. डिभी कार्की, डा. उर्मिला शाक्य, वरिष्ठ नेत्र विशेषज्ञ डा. पूजा कार्की हुनुहुन्थ्यो।

युवा नेत्र सेवाले समाज सेवाबाट अन्धो मानिसलाई उज्यालोतर्फ लैजाने काम गरेकामा अनुकरणीय रहेको प्राडा पोखरेलले बताउनुभयो। मोतिविन्दु पहिला शून्य दशमलव ९ रहेको थियो भने अहिले शून्य दशमलव २ मा झरेको उहाँले बताउनुभयो। उहाँले आफ्नो पहलमा पहिलो नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा क्यानाडाको ४० लाख रुपियाँको सहयोगबाट खोलेको समेत बताउनुभएको थियो। उक्त कार्यक्रममा प्राडा पोखरेलले स्मारिकासमेत विमोचन गर्नुभयो।

यसै गरी शिक्षा र स्वास्थ्यमा आफूले सहयोग गरिरहेको र यस युवा नेत्र सेवालाई सहयोग गर्दै आइरहेको समाज सेवी श्रेष्ठले बताउनुभयो। उक्त कार्यक्रममा सेवाको सेवा गरेको देखेर आफू प्रभावित भई उहाँले ५० हजार सहयोग स्वरूप सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितलाई हस्तान्तरण गर्नुभएको थियो।

युवा नेत्र सेवाका सचिव रोशन महर्जनले स्वागत मन्तव्यका क्रममा सेवाको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष सिद्धार्थ रञ्जितले भारतका प्रा. बेन टाटा स्वामी, अस्ट्रेलियाका प्रा. फ्रेड हल्लोवस र नेपालका प्राडा रामप्रसाद पोखरेलबाट नै समाज सेवामा लाग्ने प्रेरणा मिलेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्