प्रधानमन्त्रीप्रति ओलीको कटाक्ष



“के–के गरेर आएको मान्छे त्यति बोल्नु ठूलो कुरा होइन”
सिर्जना पन्त, बागलुङ
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने बताउनुभएको छ। नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार बागलुङ आइपुग्नुभएका ओलीले अहिलेको समयमा संविधान कार्यान्वयनका लागि चुनाव गराउन आवश्यक भए पनि सरकारले नेपाली जनताको चाहना र राष्ट्रिय हित विपरीत संविधान संशोधन प्रस्ताव दर्ता गराएको हुँदा नेकपा एमालेले संशोधन प्रस्ताव पास हुनै नदिने बताउनुभयो।

अध्यक्ष ओलीले कानुनी हिसाबले समेत गलत र संविधानमा निषेध भएको कुरा राजनीतिका पछाडि आतङ्क नीति जनतामाथि जबरजस्ती लाद्न खोजिएको आरोप लगाउनुभयो। उहाँले राष्ट्रिय एकतालाई जोड दिएर देशलाई विकासको गतितर्फ लैजान थालेको समयमा आफूहरूले राम्रो काम गरेकै कारण सरकार छोडनुपरेको भन्दै नेकपा एमलेलाई सरकारबाट हट्दैमा कसैले रोक्न नसक्ने समेत बताउनुभयो। ओलीले एक वर्ष पहिले नेपाली जनताले बल्ल सरकार भन्ने कस्तो हुन्छ थाहा पाएको भन्दै त्योभन्दा पहिले र अहिले बिजुलीको बिल र पानीको बिल तिर्दा मात्र देशमा सरकार भएको महसुस गर्ने गरेको बताउनुभयो।

देशमा उद्योगको स्थापना, विकास र उन्नतिका लागि नेकपा एमालेको सरकार बिनासम्भव नहुने भन्दै ओलीले अहिलेको सरकार जनताप्रति उतरदायी नभएको समेत आरोप लगाउनुभयो। उहाँले वर्तमान प्रधानमन्त्री अलि बढी बोल्न थालेको भन्ने आफूले सुनेको भन्दैं ‘के–के’ गरेर आएको मान्छे यत्तिको बोल्नु खासै ठूलो कुरा नभएको बताउनुभयो।

सोही अवसरमा ओलीले नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्षको समेत अवलोकन गर्नुभएको थियो। उहाँले ढोरपाटनमा असाधारण पर्यटकीय सम्भावना भएको भन्दै बागलुङको बुर्तिवाङदेखि ढोरपाटनसम्म पुग्ने सड्कलाई थप व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो। बागलुङ जिल्लाको मात्र नभएर समग्र देश विकासका लागि ढोरपाटनका सम्भावनाहरूलाई उचित व्यवस्थापन र प्रयोग गर्न आवश्यक भएको उहाँले बताउनुभयो।
यसैबीच नेकपा एमाले बागलुङको जिल्ला अधिवेशनका लागि जिल्लाभरबाट ५ सय ९२ जना प्रतिनिधिहरू छनोट भएका छन्। शनिबारको उद्घाटन कार्यक्रमसँगै तीन दिनसम्म चल्ने अधिवेशनको दोस्रो दिन बन्दसत्र र तेस्रो दिन निर्वाचनको कार्यक्रम हुने बताइएको छ।

आठौं जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवसहित ६३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। कार्यसमितिका लागि अध्यक्षमा ४ जनाको चर्चा छ। वर्तमान उपाध्यक्ष नरबहादुर थापा, ऊर्जा विभागका सदस्य हीराबहादुर केसी र प्रदेश कमिटीका सदस्य इन्द्रलाल सापकोटाले उमेदवारी दिने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्