धुर्मुस सुन्तलीको मुसहर बस्ती निर्माण अभियानलाई शुरूमै ४० लाख



काभ्रे र सिन्धुपालचोकका भूकम्पपीडितको पुनर्वासका लागि एकीकृत बस्ती निर्माण गरी सामाजिक कार्यमा अग्रसर हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुसु र कुञ्जना घिमिरे ‘सुन्तली’ को नयाँ प्रोजेक्ट तेस्रो एकीकृत बस्ती निर्माणका लागि शुरूमै ४० लाख रुपियाँ सहयोग प्राप्त भएको छ।

सीताराम र कुञ्जनाको यो नयाँ प्रोजेक्ट शुरू गर्न लागेको उनीहरूको धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टिङ एन्ड जेनेरल क्लिनिङ कम्पनीले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि ४० लाख रुपियाँ सहयोग प्रदान गरेको हो। आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन। त्यसैले तेस्रो बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँु –कार्यक्रमका लागि दुबई पुगेका सीताराम र कुञ्जनालाई सहयोग रकम हस्तान्तरण गर्दै उनले भने। उनले यसअघि गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपियाँ नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेको फाउन्डेसनले जनाएको छ। आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरी फाउन्डेसनले काम गरेर देखाएको हुनाले आफूले सकेको सहयोग गरेको कोइरालाले बताए। काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले शुरूमै ठूलो रकमको सहयोगले आफूलाई निकै प्रफुल्लित तुल्याएको बताए। ‘देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्’, सीतारामले भने– ‘त्यो परिवर्तनको महसुस दिलाउन हाममी कटिबद्ध भएर लाग्ने छौं।’ त्यसै गरी फाउन्डेसनकी कोषाध्यक्ष रहेकी कुञ्जनाले मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको बताइन्। ‘हामीले अर्को आँट गरेका छौं। सहयोगी हातहरूको साथले हाम्रो पाइला अघि बढाउन मद्दत गर्नेछ। त्यसैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न हाम्रो अपिल छ’ –उनले भनेकी छिन्।

यअसघि हास्य कलाकार दम्पती सीताराम र कुञ्जनाले एक भिडियोबाट महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गर्ने घोषणा गर्दै मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन अपिल गरेका थिए। भूकम्पपीडितका लागि दुईवटा एकीकृत नमुना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिबास–२, महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको थियो। गत वर्ष सरसफाइका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए। चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका तराईको पिछडिएको समुदायमा पर्छन्। शीतलहरबाट पिल्सिएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरूले गत वर्ष त्यहाँ पुगेर न्यानो कपडा वितरणसमेत गरेका थिए। भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरूले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताए। गास, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरू पुगेपछि अहिले निकै परिवर्तन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरूप घर प्रदान गर्न लागिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए। ‘स्वास्थ्य, शिक्षा, सरसफाइमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाइयुक्त बनाउनु ठूलो परिवर्तन हो। त्यो उपलब्धि हासिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ’, सीतारामले भने– ‘नजिकै भए पनि स्कुल जाने बालबालिकालाई हामीले आग्रह गरेपछि सबै जना विद्यालय जान थालेका छन्। सरसफाइमा ध्यान पुर्याउन थालेका छन्। त्यसैले पनि त्यो बस्तीलाई सुन्दर बनाउने सपना देखेका हौं।’
४ करोड ७८ लाख रुपियाँको लगानीमा निर्माण हुने बस्तीका लागि फाउन्डेसनले गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपियाँ पनि खर्च गर्ने फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। ‘दुईवटा बस्ती निर्माण सम्पन्न गरिसकेपछि अझै बढी जिम्मेवारी बढेको महसुस गर्दै चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नयाँ परियोजनाको घोषणा गरेका हौं’ –उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्