सातौंमा पहिलो राष्ट्रिय कीर्तिमान



काठमाडौं, (नेस)
पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन नेपाल प्रहरी क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान रचेकी छन्। यो जारी खेलकुदमा बनेको पहिलो राष्ट्रिय कीर्तिमान हो। शनिबार इटहरीको ट्रयाक एन्ड फिल्डमा चन्द्रकलाले आफ्नै नाममा रहको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन्। उनले सटफुटमा ११.५६ मिटर फ्यालेर नयाँ कीर्तिमान बनाइन्। उनले गत वर्ष भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा ११.०३ मिटर फ्यालेर सटफुटमा कीर्तिमान बनाएकी थिइन्।

ताप्लेजुङकी २३ वर्षीया लामगादेले आफ्नै क्षेत्रमा भएको खेलकुदमा कीर्तिमान बनाउन पाउँदा निक्कै खुसी लागेको प्रतिक्रिया दिइन्। जबकी उनी छैठौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलका लागि खेल्दा चौथो स्थानमा रहेकी थिइन्।

पर्शुरामको ह्याट्रिक स्वर्ण
एपीएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन्।

विराटनगरस्थित शहीद रººगशालामा भएको कराते प्रतियोगिताअन्र्तगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बरबहादुर आलेमगरलाई पराजित गर्दै स्वर्णपदक जितेका हुन्।उनले काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुद र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक हात पारेका थिए।

ह्याट्रिक गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले राष्ट्रिय खेलकुदमा लगातार तीनपटक विजयी भएकोमा निकै खुसी लागेको बताए। प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामीमगरले कास्य पदक प्राप्त गरे।

यस्तै महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउँदै स्वर्ण हात पारिन्। सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी वर्षा साउदले कास्यमा चित्त बुझाए।

केशरीले जितिन स्वर्ण

केशरी चौधरीले सातौं राष्ट्यि खेलकुदअन्तर्गत हाइजम्पमा नेपाल पुलिस क्लबका लागि ह्याट्रिक स्वर्णपदक हात पारिन्। गत पाँचौ राष्ट्रिय खेलकुद (२०६५) तथा छैटो राष्ट्रिय खेलकुद (२०६८) मा पनि स्वर्ण जितेकी थिइन्। सन् २०१० मा भएको ११औं दक्षिण एसियाली खेलकुद (साग) मा हाइजम्पमा राष्ट्रिय कीर्तिमान बनाएकी केशरीले जारी खेलकुदमा १.५४ मिटर फाल हालिन्। उनका निकटतम प्रतिद्वन्द्वी एपीएफकी शीला चौधरीले १.५५ मिटर हाफ फालेकी थिइन्। केशरी झण्डै ०.१ मिटरले अगाडि रहिन्।

केशरीको नाममा महिला हाइजम्पमा १.६९ मिटरको राष्ट्रिय कीर्तिमान बनेको छ। उनी ढाडको समस्याले गर्दा खेल्ने नखेल्ने द्विविधामा रहेकी उनले मिडियालाई बताइन्। उनले विभागले धेरै अवसर दिएपछि विभागका लागि केही गर्नुपर्छ भनेर सातौंमा सहभागी भएको बताएकी थिइन्।

सातौं राष्ट्यि खेलकुदमा केशरीले हाइजम्प, लंगजम्प, हर्डल्स र त्रिपलजम्पमा सहभागिता जनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्