नेपाल एसबीआई बैंकद्वारा फेवाताल सौन्दर्यकरण परियोजना शुरू



????????????????????????????????????

काठमाडौं, (नेस)
नेपाल एसबीआई बैंकले पोखरास्थित फेवातालको सौन्दर्य बढाउनका लागि काम शुरू गरेको छ। एसबीआई. मुम्बईका नायब प्रवन्ध निर्देशक सिद्धार्थ सेन गुप्ताले पोखरामा आयोजित एक कार्यक्रमका बीच फेवाताल सौन्दर्यकरण परियोजनाको शिलान्यास गर्नुभयो। सो अवसरमा भूमि पूजा पनि गरिएको थियो।

नेपाल एसबीआई बैंकले पोखरा उपमहानगरपालिकासँगको सहकार्यमा फेवातालको सौन्दर्यमा सुधार ल्याउनका लागि सो परियोजना थालेको हो। यसका लागि बैंक र उपमहानगरपालिका बीच गत भदौमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारीपत्रका अनुसार बैंकले फेवा ताल किनारको फुट ट्रयाकमा कम्तिमा १३ वटा प्रतिक्षालय (गजेबो), शौचालय, पिउने पानी वितरण कक्ष, स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि बैंकिङ टर्मिनल (सीडीएम⁄एटीएम⁄बैंकिङ युटिलिटी) निर्माण गर्ने छ भने फेवा किनारलाई फूल तथा हरियालीले सुशोभित गर्नेछ।

यसैबीच बैंकले बाराही घाटमा रहेको उद्धार टावरको जिर्णोद्वार तथा सजावटको काम सम्पन्न गरिसकेको छ। यसरी आफूले निर्माण गरेका सम्पूर्ण संरचनाको रेखदेख तथा सरसफाइको काम आगामी पाँच वर्षसम्म बैंक आफैंले गर्नेछ। सो कार्यमा लागेको सम्पूर्ण खर्च पनि नेपाल एसबीआई बैंकले नै बेहोर्ने छ।

यस अवसरमा बैंकले स्टार चिल्डे«न होमलाई पानी ट्यांक, न्याना कपडा, स्कूल ब्याग र स्टेशनरी सामान समेत वितरण गरको थियो। कार्यक्रममा बोल्दै एसबीआई मुम्बईका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेन गुप्ताले नेपाली समुदायका लागि प्रभावकारी सामाजिक क्रियाकलाप सञ्चालन गर्ने क्रमलाई नेपाल एसबीआई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने जनाउनुभयो। क्षेत्रीय प्रशासक खगराज बरालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अभियानको प्रशंसा गर्दै अन्य व्यावसायिक प्रतिष्ठानहरूलाई समेत यस्ता क्रियाकलापमा सहभागी भई सिंगो पोखरा शहरकै सौन्दर्यकरणमा लागि पर्न आग्रह गर्नुभयो। बैंक सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यले सामाजिक क्रियाकलापमा सहभागितालाई बैंकले आफ्नो कर्तव्य मान्ने गरेकै कारण फेवाताल सौन्दर्यकरण परियोजनाको शुभारम्भ गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्