क्रिसमसमा आन्तरिक पर्यटकको चाप



११ महिना ६ लाख विदेशी पर्यटक भित्रिए
दीपेन्द्र थापा,काठमाडौं
इसाई धर्मालम्बीहरूको पर्व क्रिसमसको अवसरमा पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको चाप देखिएको छ। क्रिसमसमा विदेशीभन्दा पनि आन्तरिक पर्यटकको चाप देखिएको नेपाल होटल संघ (हान) ले जनाएको छ।

काठमाडौंको ठमेल, पोखरा र चितवनमा आन्तरिक पर्यटक उल्लेख्य रूपमा पुगेको हानका महासचिवसमेत विनायक शाहले जानकारी दिनुभयो। ‘क्रिसमसमा बाह्यभन्दा पनि आन्तरिक पर्यटक बढी पर्यटकीयस्थल पुग्छन्,’ प्रवक्तासमेत रहनुभएका शाहले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘सामान्यतय अरू समयको जस्तै क्रिसमसमा पनि बाह्य पर्यटकको चाप बढी हुन्छ भन्ने बुझाइ छ। तर, त्यो होइन यो समयमा आन्तरिक पर्यटन बढी हुन्छ।’

इसाई धर्मालम्बीहरू २० डिसेम्बरदेखि ६ जनवरीसम्म परिवारसँग बसेर मनाउने भएकाले यो सिजनमा तुलनात्मक रूपमा अन्य समयभन्दा विदेशी पर्यटकको आवगमन कम हुने प्रवक्ता शाहले जानकारी दिनुभयो। गत वर्षको तुलनामा यसवर्ष पर्यटक आगमनमा वृद्धि भएको हानले जनाएको छ। हानको तथ्यांक अनुसार भूकम्प र नाकाबन्दीका कारण गत वर्ष पर्यटन आवागमनमा कमी आएको थियो। अघिल्लो वर्षको तुलनामा गतवर्ष ३५–४० प्रतिशत मात्रै होटल बुकिङ भएको थियो भने यसवर्ष ६०–६५ प्रतिशतले वृद्धि भएको छ। डिसेम्बरे महिनामा भने ५० प्रतिशतले कमि आएको हानले बताएको छ।

हानका अध्यक्ष अमरनाथ शाक्यले नेपालमा गुणस्तरीय होटल तथा हवाई सेवाको अभावका कारण पनि क्रिसमसमा नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आउने गरेको बताउनुभयो। ‘नेपालमा क्रिश्चियानिटी झल्काउने खालका होटल भए क्रिसमसमा पनि ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ,’ अध्यक्ष शाक्यले भन्नुभयो–‘ अहिले जति पनि नेपाली होटलहरू बुकिङ भइरहेका छन् ती सबै आन्तरिक पर्यटक नै हुन्।’ अध्यागमन विभागको एयरपोर्ट शाखाले पनि ‘अफ सिजन’ भएकाले यतिबेला विदेशी पर्यटक चाप नरहेको जनाएको छ।

‘यो पर्यटक आउने समय होइन त्यही भएर विदेशी पर्यटकको चाप छैन,’ अध्यागमन विभाग एयरपोर्ट शाखा प्रमुख उद्धब भट्टराईले भन्नुभयो–‘तर अघिल्लो वर्षको तुलनामा भने यो वर्ष पर्यटक आगमनको संख्यामा केही वृद्धि आएको छ।’अध्यागमन विभागले दिएको जानकारीअनुसार सन् २०१६ को ११ महिनामा साढे ६ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। जुन सन् २०१५ को तुलनामा १ लाख ६१ हजार ६ सय ४१ जनाले बढी हो।

प्रतिक्रिया दिनुहोस्