हात समाउँदै दम्पतीले श्वास छाडे



टेनेसी, (एजेन्सी)
अमेरिकाको टेनेसीका एक दम्पतीले केही घन्टाको अन्तरालमा अस्पतालको बेडमा एक–अर्काको हात समाउँदै आफ्नो अन्तिम श्वास छाडेका छन्। केही घन्टाको अन्तरालमा निधन भएका ती दम्पतीको वैवाहिक जीवन करिब ६४ वर्षसम्म रह्यो।

८३ वर्षीय डोलोरेस विन्स्टिड र उनका पति ८८ वर्षीय ट्रेन्ट विन्स्टिड दुवैको नासविलास्थित सेन्ट थोमस वेस्ट हस्पिटलमा निधन भएको उनीहरूका सन्तानले जानकारी दिए।

दम्पतीका ५७ वर्षीया छोरी सेरिल विन्स्टिडले एबीसी न्युजलाई उनका पितालाई यसै महिनाको शुरुतिर अस्पताल भर्ना गरिएको र उनलाई हेर्न गएकी आफ्नी आमा अकस्मात् मस्तिश्क समस्याबाट बिरामी भएको बताएकी छिन्।

चिकित्सकहरूले यदि उनलाई कृत्रिम श्वास दिएर राख्ने हो भने डालोरेसलाई धेरै गाह्रो हुने बताएपछि आफू र आफ्नो भाइले उनलाई प्राकृतिकरूपमै मृत्युवरण गर्न दिने निर्णय गरेको उनले थपिन्। आमाको बारेमा आफ्नो पितालाई बताउँदा उनी अत्यन्तै दुखित बनेको र मृत्युलाई अँगाल्न पुगेको उनले बताइन्।

अस्पतालका कर्मचारीहरूले दुई जोडीको बेडलाई ठेलेर सँगै राखिदिएका थिए। उनीहरूले आफ्नो अन्तिम क्षण सँगै हात समाएर बिताएको सेन्ट थोमसका स्वास्थ्य प्रवक्ताले एबीसी न्युजलाई बताए।

प्रतिक्रिया दिनुहोस्