कार्यालय प्रमुख नहुँदा नागरिकता वितरण हुन सकेन



रामपुर (पाल्पा), ९ पुस । कार्यालय प्रमुख नहुँदा इलाका प्रशासन कार्यालय रामपुरबाट नागरिकता प्रमाणपत्र वितरण हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ ।

गत कात्तिक १६ गते कार्यालय प्रमुख किरणचन्द्र सुवेदी रामपुरबाट सरुवा भएपछि नागरिकता वितरण गर्ने कार्य रोकिएको हो । कार्यालयमा ९० भन्दा बढी आवेदन सङ्कलन भइसकेको र आवेदन दिएका सेवाग्राहीको दैनिक आउने जाने काम मात्र भइरहेको छ ।

नागरिकता कहिले बन्छ भन्ने विषयमा नागरिक नै अन्यौलमा छन् । कार्यालय निमित्त प्रमुख विनोद विष्टका अनुसार नागरिकता बनाउन दैनिक फर्म सङ्कलन भए पनि वितरण गर्न नसक्दा समस्या भएको छ । उहाँले कार्यालय प्रमुख नभएपछि आफूहरुले वितरण गर्न नमिल्ने बताउँदै आएको फर्म मात्र बुझ्ने गरेको बताउनुभयो ।

इलाका प्रशानसन कार्यालय रामपुरमा दैनिक करिब १० वटा नागरिकताका लागि आवेदन सङ्कलन हुने गरेकोछ । रामपुर नगरपालिकासहित पूर्वी क्षेत्रका सात गाविसका नागरिकलाई नागरिकता बनाउने सेवा दिइएको छ ।

दुर्गम क्षेत्रका बाकामलाङ, गल्धा, झिरुवास, मित्यालबाट नागरिकता बनाउन इलाका प्रशासन कार्यालय आउनेलाई झनै समस्या भएको छ । कार्यालय प्रमुख नहुँदा नागरिकता वितरणमा समस्या भएको गुनासो आफूसँग पनि आएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताउनुभयो ।

उहाँका अनुसार सरुवा भएर आएको कर्मचारीलाई तत्कालै अन्यत्र सरुवा गरेकाले समस्या भएको हो । कर्मचारी नभएको विषयमा गृहमन्त्रालयमा पनि जानकारी गराइसकेको बताउँदै सङ्कलन भएको नागरिकता वितरण गर्नका लागि सोमबारसम्म कर्मचारी खटाउने गौतमले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्