‘हुलमूलमा अरूसँगै छिर्यौं’



प्रशान्त वली, काठमाडौं

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुवै युवाले पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार कार्कीलाई आफूहरूले कालोमोसो दलेको बताएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टेकुस्थित कार्यालय परिसरमा शुक्रबार नेपाल समाचारपत्रसँग कुराकानी गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश शाहीले भने– ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने क्रममा उहाँ निसानामा पर्नुभएको हो। पार्टीको पूर्वयोजनाअनुसार कार्कीलाई कालोमोसो दलिएको हो। सबै जिम्मेवारी पार्टीले लिइसकेको छ। पार्टीले भ्रष्टाचारीहरूको कालोसूचीमा कार्कीलाई पारेकाले हामी कालोमोसो दल्न सर्वोच्च अदालत पुगेका हौं।’ उनीसँगै सोही पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढालाई पनि प्रहरीले बिहीबार नियन्त्रणमा लिएकोमा दुवैलाई ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिइसकेको छ।

बुढा नागार्जुन नगरपालिकाका सो पार्टीका सेक्रेटरीसमेत हुन्। बुढाले थुना कक्षबाटै नेपाल समाचारपत्रलाई भने– ‘हाम्रो आन्दोलनमा सबैले साथ दिएका छन्।’ पत्रकार तथा सर्वसाधारणलाई भित्र निकै कठिन हुने सर्वोच्च अदालतको इजलासमै गएर कसरी यी दुई युवाले लोकमानलाई कालोमोसो दले होलान्? सर्वत्र अहिले यसमा चासो दिइएको छ। तर, उनीहरूकै भनाइअनुसार अख्तियारका निलम्वित प्रमुख आयुक्त कार्कीको पेसी परेकै कारण धेरै पत्रकार तथा अन्य नागरिक पनि भित्र गएकाले हुलमूलमा को गयो भन्ने त्यहाँका सुरक्षाकर्मीले थाहै पाएनन्। दुवै जना हुलमूलमा भित्र छिरेको पार्टीका एक नेताले जानकारी दिए। नेपाल समाचारपत्रको टोली महानगरीय प्रहरी परिसर काठमाडौंको टेकुस्थित कार्यालयमा शुक्रबार पुग्दा पक्राउ परेका शाही र बुढालाई भेट्न ५० भन्दा बढी स्थानीय तथा जिल्लास्तरीय कार्यकर्ता त्यहाँ पुगेका थिए।

भेटको क्रममा उनीहरूले भ्रष्टाचार विरोधी अभियानमा साहसिक कदम चालेको भन्दै दुवै जनालाई बधाईसमेत दिएका थिए। दाङ घर भई केही दिनअघि मात्रै काठमाडौं आएका शाही अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यका साथै त्रिभुवन विश्वविद्यालय क्रान्तिकारीका इन्चार्जको जिम्मेवारीमा समेत रहेका छन्।

दाङ जिल्लामा दुई कार्यकाल क्रान्तिकारी विद्यार्थीको अध्यक्षको जिम्मेवारी सम्हालेका शाही जिल्लामा भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका थिए। शाहीले दाङको बेला स्कुलमा भ्रष्टाचार भएको थाहा पाएपछि स्कुलका फाइलहरू अख्तियारसम्म पु¥याउन विगतमा मदत गरेका थिए। यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दाङमा कार्यरत इन्जिनियर राम दुलारी शरण भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहीकै पहलमा घुस रकमसहित नियन्त्रणमा लिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसीले बताए।

यस्तै लक्ष्मीपुर दाङमा बस्दै आएका वृद्ध विपन्न दम्पत्तिलाई शाहीकै संयोजकत्वमा घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाइएको थियो। वैद्य माओवादीमा रहेका शाही वैद्यभित्र पनि दुई धार भएपछि विप्लव माओवादीमा लागेका थिए। त्रिविको विद्यार्थी संगठन इन्चार्ज पद सम्हाल्न दुई हप्ताअघि मात्रै काठमाडौं आएका थिए। जनतन्त्र, राष्ट्रियता र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादीले बिहीवार उपत्यका बन्द आह्वान गरेकै दिन उनले कार्कीलाई कालोमोसो दलेका हुन्। यसैबीच कार्कीले शुक्रबार एक वत्तव्य जारी गरी थुनामा रहेका युवाहरूलाई रिहा गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्