सद्भावना पार्टीको नाममा फेरि विवाद



नेपाल मसाचारपत्र
काठमाडौं
देशमा संघीयताको माग गर्दै स्व. गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको स्वामित्वबारे विवाद हुँदै आएको छ। स्व. सिंहको निधनपछि नेपाल सद्भावना पार्टी करिब आधा दर्जन पार्टीमा विभाजन भए भने आधिकारिक झण्डा र छापका लागि वर्षौंसम्म सर्वोच्च अदालतमा मुद्दा चलिरह्यो।

सर्वोच्च अदालतबाट मुद्दा जितेर नेपाल सद्भावना पार्टीकी अध्यक्ष बनेकी सरिता गिरीले अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीसँग एकीकरण गरेपछि झा नेपाल सद्भावना पार्टीका अध्यक्ष छन्। तर एकीकरण भएको छ महिना नबित्दै झा र गिरीबीच विवाद चुलिएको थियो। जनकपुरधाममा महाधिवेशन गरेपछि निर्वाचन आयोगले झालाई नेपाल सद्भावना पार्टीको अध्यक्षका रूपमा मान्दै आएको छ।

तर पछिल्लो पटक गिरीले नेपाल सद्भावना पार्टीकै नाम र छापबाट प्रेस विज्ञप्ति जारी गरेपछि पुनः विवाद शुरू भएको छ। मंसिर १७ गते गिरीले नेपाल सद्भावना पार्टीकै लेटर प्याडमा एक विज्ञप्ति जारी गरेकी छन्। उक्त विज्ञप्तिमा पार्टीको राष्ट्रिय अध्यक्षको रूपमा सरिता गिरीले हस्ताक्षर गरेकी छन्।

गिरीले पार्टीको लेटरप्याड र छाप दुरुपयोग गरेको भन्दै झा निर्वाचन आयोग पुगेका छन्। झाले निर्वाचन आयोगमा उजुरी गरेपछि आयोगले पुस ७ गते गिरीसँग स्पष्टीकरण माग गरेको छ। पार्टीको लेटरप्याड र छाप किन र कसरी प्रयोग गरेको भन्दै आयोगले गिरीसँग स्पष्टीकरण सोधेको छ। यता गिरीले भने झासँगको एकीकरण आफूहरूलाई मान्य नभएको दाबी गर्दै आएकी छन्। नेपाल सद्भावना पार्टीको अध्यक्ष आफू नै रहेको दाबी गिरीको रहेको छ।

हाल नेपाल सद्भावना पार्टीबाट चोइटिएर करिब आधा दर्जन सद्भावना शब्द जोडिएका पार्टीहरू छन्। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, विकास तिवारी नेतृत्वको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), श्यामसुन्दर गुप्ता नेतृत्वको नेपाल सद्भावना पार्टी (युनाइटेड), सद्भावना पार्टीबाट अलग भएपछि रामनरेश राय र महेन्द्र यादवको एकतापछि तराई मधेस सद्भावना पार्टीलगायतका छन्।

प्रतिक्रिया दिनुहोस्