लोकमानको अर्को सुनुवाइ २१ गते



काठमाडौं, (नेस)
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारविहीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता विवाद भएको मुद्दाको सुनुवाइ अब यही पुस २१ गते हुने भएको छ।

दुई दिनसम्म लगातार सुनुवाइ गरेपछि सो विवादलाई अब यही पुस २१ गते सुनुवाइ गर्ने गरी पेसी राखिएको सर्वोच्च अदालतबाट थाहा भएको छ। हिजो शुक्रबारको बहसमा लोकमानको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता माधव बस्नेतले सो विषयलाई सर्वोच्च अदालतले पुनरावलोकन गर्न नसक्ने जिकिर गरेका थिए।

यसैबीच सर्वोच्च अदालतले अख्तियारका अधिकारविहीन पमुख आयुक्त कार्कीलाई वारिस राख्नका लागि अनुमति दिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले वारेस राख्ने अनुमति दिएको हो।

म्याद तामेल गर्न असहयोग गरेको आरोप लागेको मुद्दामा कार्कीलाई आफै अदालतमा उपस्थित हुन आदेश दिएबमोजिम उहाँ हालसम्म अदालतमा आफै गई तारेख लिइरहनुभएको थियो। सो क्रममा बिहीबार उहाँलाई अदालत उपस्थित हुने क्रममा कालो मोसो दलिएको थियो। शुक्रबार भएको बहसको क्रममा वरिष्ठ अधिवक्ता न्यौपानेले वारेसको अनुमति पनि नदिने अनि अदालतको परिसरभित्र कालोमोसो दल्ने कार्य उपयुक्त नभएको बताउनुभएको थियो।

अदालतले वारेस अनुमति दिएपछि अब लोकमान तारेख बुझ्न अदालत गइरहन नपर्ने भएको छ। यसअघि तारेखको दिनमा सधैं उहाँ अदालत गइरहनुपर्दथ्यो। यसैबीच बिहीबार अख्तियारका प्रमुख आयुक्त कार्कीलाई कालोमोसो दलेपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। अदालत परिसरभित्र छिर्ने कालो कोटधारी कानुन व्यवसायीको पनि परिचयपत्र हेरी भित्र छिराइएको छ।

यसअघि कालो कोट लगाउने जोकोहीलाई पनि कानुन व्यवसायी भन्ने ठानेर सजिलै सर्वोच्च अदालतको परिसरमा छिर्न अनुमति दिने गरिन्थ्यो। अब भने सर्वोच्च अदालतको मूल गेट, नेपाल बारको गेट र महान्यायाधिवक्ताको कार्यालय छिर्ने गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कार्कीलाई कालोमोसो दलेको घटनालाई लिएर सर्वोच्च अदालतमा रहेका प्रहरीसमक्ष सोधपुछ गर्न थालिएको छ। सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार त्यहाँका प्रहरी प्रमुखलगायतलाई सोधपुछ गर्न थालिएको हो।

प्रतिक्रिया दिनुहोस्