तरकारीको मूल्य साँच्चै घटेको हो?



नेपाल समाचारपत्र
काठमाडौं
एक हप्ताको अन्तरालमा तरकारीको मूल्य निकै घटेको छ। सहजरूपमा तरकारी भित्रिनु र मागअनुसार उत्पादन भएकाले ३० प्रतिशतले तरकारीको मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ। तरकारीको मूल्य सस्तिएसँगै उपभोक्ताहरूलाई राहतको महसुस भएको छ। अहिले दैनिक ८ सय मेट्रिक टन तरकारी भित्रिने गरेको समितिले बताएको छ। केही समयअघि ६ सय मेट्रिक टन मात्रै तरकारी आयात हुने गरेको थियो।

केही दिनअघि ३८ रुपियाँ किलोमा बिक्री भइरहेको गोलभेंडा घटेर ३३ रुपियाँ किलोमा बिक्री भइरहेको छ। यस्तै, ३३ रुपियाँ किलो रातो आलुको थोक मूल्य अहिले ३० रुपियाँ, २८ रुपियाँ किलो सेतो आलुको थोक मूल्य अहिले २१ रुपियाँ कायम गरिएको छ। ७५ रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको गाँजरको मूल्य घटेर ६८ रुपियाँ प्रतिकिलोमा झरेको छ। केही दिनअघि ९५ रुपियाँ प्रतिकिलो पर्ने मटरकोसा घटेर ४८ रुपियाँ पुगेको समितिको मूल्य सूचीमा उल्लेख छ।

हरियो फर्सी पहिलेको तुलनामा ८ रुपियाँ घटेर २७ रुपियाँ किलोमा कारोबार भइरहेको छ। केही दिनअघि हरियो फर्सीको मूल्य ३३ रुपियाँ प्रतिकिलो रहेको थियो। एक हप्ताअघि ६५ रुपियाँ प्रतिकिलो पर्ने ब्रोकाउलीको मूल्य घटेर ३५ रुपियाँ प्रतिकीलोमा बिक्री भइरहेको छ।

यसैबीच, पछिल्लो ४ महिना भारतबाट ४६ प्रतिशत तरकारी काठमाडौं भित्रिएको छ। यस वर्ष पानी अत्यधिक परेको कारण तरकारी ढिलो उत्पादन भएकाले भारतबाट धेरै मात्रामा तरकारी भित्रिएको समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो। कार्यकारी निर्देशक पौडेलका अनुसार काउली, बन्दा, मटरकोसा, टमाटर उल्लेख्य मात्रामा भारतबाट भित्रिएको हो।

प्रतिक्रिया दिनुहोस्