सत्ता परिवर्तन भएको रिस पोख्न संसद् अवरुद्धः देउवा



काठमाडौं, (नेस)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले सत्ता परिवर्तन भएको रिस पोख्नकै लागि संसद् चल्न नदिएको आरोप लगाउनुभएको छ। साथै उहाँले मधेसको समस्या समाधान गर्न संविधान संशोधन विधेयक दर्ता गर्दा प्रमुख प्रतिपक्षी एमालेले झगडा गराउन खोजेको आरोप पनि लगाउनुभएको छ।

शुक्रबारदेखि शुरु भएको पार्टीका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा सभापति देउवाले एमालेलाई सत्ता परिवर्तन भयो भन्दैमा संसद् नै चल्न नदिने हो र भन्ने प्रश्न गर्नुभएको हो। राष्ट्रिय एकता कायम गर्न तथा तराई, पहाड र हिमाललाई एक ढिक्का बनाएर लैजान खोज्दा एमालेले संसद् अवरोध गरेर राम्रो काम नगरेको सभापति देउवाको भनाइ थियो। प्रदेशको सीमाङ्कन हेरफेरसहित सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि यसको विरुद्धमा एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ।

कार्यक्रममा सभापति देउवाले संसद् अवरुद्ध गरेर समस्याको समाधान नहुने बताउँदै नेकपा एमालेले मधेसलाई अराष्ट्रवादी ठानेको भन्दै आपत्ति पनि जनाउनुभएको थियो। ‘संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गर्नु गलत छ’, सभापति देउवाले भन्नुभयो– ‘तत्कालीन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको भावनाबमोजिम नै संविधान संशोधन प्रस्ताव ल्याइएको हो।’ संविधान संशोधन गर्ने भनेर आफैले गरेको वाचा एमालेले अहिले बिर्सिएको उहाँको भनाइ थियो।

संविधान कार्यान्वयनको लागि २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गराउनुपर्ने चुनौती रहेको बेला सबैलाई मिलाएर निर्वाचनमा जानका लागि संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै सभापति देउवाले यो कुरा एमालेले बुझ्नुपर्ने पनि बताउनुभएको थियो। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् अवरुद्ध बनाएर एमालेले मुलुकलाई बन्धक बनाएको आरोप लगाउनुभएको थियो।

कांग्रेसले पार्टीमा हुने आर्थिक व्यवस्थापनलाई बलियो र पारदर्शी बनाउन कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन गरेको हो। सम्मेलनमा पार्टी सञ्चालनका लागि लेबीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा बृहत् छलफल हुने सम्मेलनले काठमाडौं घोषणापत्रसमेत जारी गर्ने बताइएको छ। सम्मेलनका संयोजक गोविन्द पुडासैनीका अनुसार राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणका लागि पनि सम्मेलनको आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्