पश्चात्ताप



सुशील देवकोटा
जिन्दगीमा कहिलेकाहीँ जान–अन्जानमा यस्तो गल्ती भैदिन्छ, जसको जति नै पश्चात्ताप गरे पनि जिन्दगीभरि त्यो गल्ती मेटिँदैन । मबाट पनि एउटा यस्तै ठूलो गल्ती भएको छ । मैले यो गल्ती गरेको छु मेरी आमाप्रति । मेरी नेपाल आमाप्रति अर्थात् मेरो जन्मभूमिप्रति । त्यसैले आज माफी माग्छु म मेरो जन्मभूमिसँग ।

तिमीलाई याद नहोला तर मलाई राम्रोसँग सम्झना छ– २०३६ सालताका तिम्रो चिनारी राष्ट्रिय झन्डा नबोकेर एउटा पार्टीको झन्डा उचालेर त्यति बेलाको व्यवस्था मुर्दावाद भनेर शुरु गरिएको गल्तीको शृङ्खला धेरै लामो चल्यो ।

तिमीलाई पनि थाहा छ आमा, म सक्रिय राजनीतिमा कहिल्यै लागिनँ तर लाग्नेहरूको सूक्ष्म हतियार त बनेँ नि । ममा त्यति धार थिएन होला । मेरो प्रयोग त्यति भएन होला तर जे–जति म प्रयोग भएँ त्यो नै मेरो अन्तरात्मालाई चिमोट्न पर्याप्त भयो ।

२०४६ सालताका देशमा प्रजातन्त्र आए तिम्रा सबै सन्तानले सुख पाउँछन् भन्ने भ्रम बाँडियो । सन्तानले सुख पाउँदा कुन आमा खुशी नहोलिन् र ? भन्ने सोचियो । यहाँ पनि, तिमीलाई थाहा छ आमा, मेरो कुनै सक्रिय भूमिका थिएन । तर, प्रजातन्त्रको लागि भनेर दुई–चार ढुंगा हानेकै हुन् मेरा यी पापी हातहरूले ।

प्रजातन्त्र प्राप्तिपछि तिमी हाँस्छ्यौ होला, सर्वत्र तिम्रो मान–सम्मानमा अभिवृद्धि होला भन्ने सोचेका थिए तिम्रा धेरै सन्तानले मैले जसरी नै । तर, त्यो झुटो प्रमाणित भयो आमा । तिमीलाई सुख, शान्ति होला भन्ने सोचेको त उल्टै तिम्रो छातीमा रगतको होली खेल्न थालियो । म लाचार छाया भई हेरेर बस्नेबाहेक केही गर्न सकिनँ । मेरो हतियार कलम थियो आमा । तिम्रो उर्वर माटोले, तिम्रो ममताको काखमा लडिबुडी गर्दागर्दै अलि–अलि लेख्ने सामथ्र्य पाएको थिएँ । त्यो हतियारको प्रयोग गरें मैले केही बाटो बिराएकालाई जगाउन सक्छु कि भनेर । तर अहँ, जागेनन् आमा, कोही जागेनन् । तिम्रा सन्तान मरिरहे, तिमी बलिन्द्र आँसु झारेर रोई नै रह्यौ अनि म लाचार छाया भएर हेरी नै रहेँ ।

२०६२⁄६३ सालताका फेरि गणतन्त्रको लहर चल्यो र भनियो– गणतन्त्र नै देशलाई अगाडि बढाउने उत्कृष्ट माध्यम हो । मनमा भएको ग्लानि र दोषी भावनाले गर्दा मलाई लाग्यो, यो तिम्रो ऋण चुक्ता गर्ने राम्रो अवसर हो । अनि फेरि म सानो हतियार, सानै रुपमा प्रस्तुत भएँ । गणतन्त्रको समर्थनमा चिच्याएँ । हावामा मुठी उठाउँदै जय–जयकार गरें गणतन्त्रको पक्षमा । अन्ततः देशमा गणतन्त्र पनि आयो । तिम्रा धेरै सन्तानले जसरी मैले पनि ढुक्कको सास फेरें । अब मेरी नेपाल आमा सधैँ हास्नेछिन् । मेरी आमाको पनि दुःखका दिन गए । अब त मेरी आमाको सेवा उनैको सन्तानले गर्ने हो भनेर छाती चौडा गरियो ।

माफ गर आमा, यो त झन् ठूलो गल्ती पो गरिएछ । बरु हिजोसम्म तिमी रुन्थ्यौ, आँसु झाथ्र्यौ तर कसैले तिम्रो अंशवण्डा त गरेको थिएन नि । आज त संघीयताको नाममा तिमीलाई टुक्रा–टुक्रा पारेर तिम्रो अंशवण्डा गरिँदै छ । तिमीलाई टुक्रा–टुक्रा पारेर मात्रै नभएर, तिमीलाई बेच्न खोज्दै छन् तिम्रा सन्तान । अनि तिम्रै सन्तानमध्येको एक म बाटो बिराएको पथिकजस्तो भएको छु । उठाउन खोज्छु अरुलाई पनि, घचघच्याउँछु पनि । तर अहँ, कोही उठ्दैनन् ।

थाहा छ मलाई, आमाको मनले कहिल्यै पनि आफ्नो सन्तानलाई खराब मान्दैन । आमाको हृदयले कहिल्यै पनि सन्तानको लागि कुभलो चिताउँदैन । तर आमा, म जस्तो तिमीलाई सधैँ दुःख मात्रै दिने सन्तानलाई किन माया गछ्र्यौ ? म दोषी हुँ आमा । मलाई धिक्कार । मेरो गणना लाछी सन्तानमा गर आमा । न मैले बेलैमा बुद्धि पु¥याउन सकें, न मैले तिम्रा अरु सुतेका सन्तानलाई उठाउन सकें । म जस्तो सन्तानको कुनै प्रयोजन र महत्व छैन भनिदेऊ आमा । तिमीले यति भने मलाई लाग्नेछ– म अलिकति भए पनि चोख्खिएँ, यो लाजमर्दो नाटकको एक सूक्ष्म पात्र भएर जुन गल्ती गरेको थिएँ त्यो पापको एक अंश भए पनि पखालियो । नेपाल आमा मलाई माफ गर ।

प्रतिक्रिया दिनुहोस्