पुण्य कार्कीका जाग्रत आँखाहरू



किरण श्रेष्ठ
निबन्ध लेखनमा आफ्नो सशक्तता देखाउन सफल निबन्धकार । शिक्षणसेवामा समर्पित हुँदै साहित्य लेखनमा सक्रियता देखाउन सफल साहित्यकार । उदयपुर जिल्लाका सचेत नागरिक । गाईघाटको एउटा उच्च मा.वि.का प्राचार्य रहेर पनि यिनले साहित्यिक लेखनको माध्यमबाट राष्ट्रमा आफूलाई चिनाउन सफल व्यक्तित्व । कविता, कथा, उपन्यास, बालरचनालगायत स्रष्टा⁄द्रष्टाका जीवनीहरू लेखेर आफूलाई चिनाउँदै आएका यिनी प्रगतिशील दृष्टि–चेत् भएका सफल स्रष्टाका रुपमा चिनिन्छन् । भर्खरै मात्र यिनका निबन्धसङ्ग्रह जनमत प्रकाशनबाट प्रकाशित भएर काठमाडौंमा सार्वजनिक भएको हो । उक्त पुस्तक ‘जाग्रत आँखाहरू’ मा ३९ वटा निबन्ध रचनाहरू समाविष्ट छन् ।

पुण्य कार्कीको लेखन सशक्त हुनाका साथै समाजोपयोगी दृष्टि–मर्मले व्याप्त छन् । यस ‘जाग्रत आँखाहरू’ निबन्धसङ्ग्रहमा पनि यिनले देशको परिवेशबारे, राजनीतिक विकृतिबारे, कुसंस्कार र अपचलनका विरुद्ध कटाक्ष शैलीमा निबन्ध कथ्न सफल देखिन्छन् । आँखाहरू जाग्रत नभएकै कारणले धेरै थोकमा, धेरै ठाउँमा, धेरै खालका कर्म र मर्ममा नेपाल र नेपालीहरू दुख्दा छन् । सङ्केतमा, व्यङ्ग्यमा कलात्मक ढङ्गले आफ्नै शब्दशैलीमा नेपाल र नेपालीहरू दुखेका प्रसङ्गहरूलाई निबन्धमार्फत यस कृतिमा आफ्नो विचार पोख्न लेखक सफल छन् ।

निबन्धमा कटु सत्य व्यक्त गर्न सिपालु पुण्य कार्कीले सबैजसो निबन्धमा आफ्नो बौद्धिकतामार्फत सत्यलाई व्यक्त गर्न कोशिश गरेका छन् । ‘चेतनाको उचाइ’ के हो र चेतनाको उचाइको मर्म कस्तो हुन्छ, यसै निबन्धमा यिनले आफ्नो विचार यसरी व्यक्त गरेका छन्– सबभन्दा सुन्दर उचाइ चेतनाको उचाइ हो । चेतनाको उचाइमा बाँच्नुको मजा अर्को छ । चेतनाको उचाइमा बाँच्नुको सौन्दर्य नै अनुपम छ । धन, पद, प्रतिष्ठा र घरको उचाइले दिन नसक्ने सुख, चेतनाको उचाइले दिने सुखमा सन्निहित छ । मोफसलबाट निरन्तर चेतनाको प्रकाश अक्षरमार्फत दिइरहन रुचाउने पुण्य कार्कीले यस निबन्धसङ्ग्रहले पनि हामीलाई मानवजीवनको विराट पहिचान देखाउन खोजेका छन् । यिनका निबन्धहरूमा विद्वता प्रशस्त छन् । यही विद्वता पुष्टि गर्ने अभियानमा यिनी आफ्नो विचार, तर्क र प्रमाण पेस गर्छन् ।

सबैजसो निबन्धमा सरल तर्क, वैज्ञानिक विचार भर्न सिपालु निबन्धकार पुण्य कार्कीले जाग्रत आँखाहरूको परिभाषा दिंदै वैज्ञानिक विचार भरेर सरल शैलीमा यसरी लेख्छन्– जाग्रत आँखाले कित्ता नछुट्याई अँध्यारोलाई अँध्यारो भन्छ । उज्यालोलाई उज्यालो भन्छ । सुन्दरलाई सुन्दर भन्छ । कुरुपलाई कुरुप भन्छ । जाग्रत आँखामा असीम खालको अभय चेतना हुन्छ । त्यसैले त आफ्ना आँखाहरूमा तातो झीर उनिंदा पनि एकरत्ति टसमस नभई सत्य ओकलिरहन्छ ।

उनी अगाडि लेख्छन्– अँध्यारोको विरुद्धमा हर्दम बल्नु, गतिहीनताको विरुद्धमा हर्दम चल्नु जाग्रत आँखाको काम हो ।’ यही जाग्रत आँखाहरूको हेराइबाट कोरिएका अक्षर–मर्महरू हुन् पुण्य कार्कीका निबन्ध–अक्षरहरू । कार्कीले आफ्नो निबन्धमार्फत आफ्नो जीवनको दृष्टि आशा र न्यायको पक्षमा रहेको वकालत गरेका छन् । समाजका भ्रष्ट अपराधी, विवेकहीन राजनीतिज्ञ, शोषक र सामन्तका विरुद्धमा उनी उभिएका छन् । यस अर्थमा राखेर नियाल्दा यस कृतिमा सँगालिएका ३९ वटा निबन्धहरूमा नै निबन्धकार कार्कीले जीवनप्रतिको आफ्नो मोह देखाउँदै समाजमा देखिंदो विसङ्गति र विकृतिका विरुद्ध आफूलाई उभ्याएर झाँकी झार्ने प्रयत्न गरेका छन् । यस निबन्धसङ्ग्रहले अझ प्रमाणित ग¥यो– पुण्य कार्कीका निबन्धहरू शैलीमा मात्र होइन विचार–दृष्टिमा पनि सशक्त र प्रभावकारी छन् ।

प्रतिक्रिया दिनुहोस्