भाव सागर सार्वजनिक



गोकर्णको संयुक्त अपांग एकता आवाज केन्द्रमा शुक्रबार आधुनिक गीतहरूको अडियो एल्बम भाव–सागर भाग–२ र कविता संग्रह भाग–सागर भाग–२ सार्वजनिक गरिएको छ। अमेरिकाबासी गीतकार तथा कवियित्री अम्बिका गुरुङले रचना गरेका गीतहरूको एल्बम तथा कविताहरूको संग्रह सार्वजनिक क्रममा उक्त केन्द्रमा आश्रय लिइरहेका ४१ जना अनाथ बालबालिकालाई सामूहिक भोजन गराइयो भने जाडोका न्याया पहिरनहरूसमेत प्रदान गरिएको छ।

सार्वजनिक एल्बममा संगीतकार प्रकाश लेप्चाद्वारा संगीतबद्ध आधुनिक, लोक, आधुनिक तथा पपशैलीका गीतहरू छन्। यी गीतमा राजेशपायल राई, दीपक लिम्बु, रीमा गुरुङ होडा, मिलन अमात्य तथा राज सिग्देलद्वारा स्वरबद्ध गीत छन्। कार्यक्रममा वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङले स्रष्टाको मन कमलो हुने भएकाले अनाथ बालबालिकालाई सहयोग गरिने परम्पराको स्वागत गरे भने केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले गीति एल्बम तथा पुस्तक विमोचनका लागि आफ्नो अनाथ आश्रमलाई छनोट गरेकोमा आयोजकलाई धन्यवाद दिए। समारोहमा केन्द्रमा आश्रित बालबालिकाले नृत्य प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्