लामा कविताका अग्ला कवि

80

मोहन दुवाल
हन कोइरालाले आधुनिक गद्य–कवितामा नयाँ प्रयोग गरी कवितामा आफ्नै विम्ब–शैली बोकेर क्लिष्ट शब्दशैलीलाई आफ्नो पहिचानजस्तो बनाई प्रख्यात प्रयोगवादी कविका रुपमा आफूलाई चिनाउन सफल छन् । महाकवि देवकोटा, गोपालप्रसाद रिमाल, भूपि शेरचनपछि गद्य कवितामा आफ्नो पहिचान देखाउन यिनले आफ्नो खालको काव्यिक सङ्घर्ष गरेको देखिन्छ । कविता सिद्धान्तमा बाँधिएर लेखिंदैन, कविले कविता पो लेख्ने हो भनी कविता र कविको उच्चताबारे आफ्नै परिभाषा बनाएर साहित्यिक क्षेत्रमा देखा परेका यिनी सर्वसाधारणका लागि नबुझ्ने कविका रुपमा प्रख्यात रहेको कोही–कोही समालोचकहरू उल्लेख गर्छन् । कवितामा विम्ब प्रयोग हुनुपर्ने, आधुनिक सन्दर्भभित्र रुमलिन सिक्नुपर्ने, शब्द संयोजन गर्न जान्नुपर्ने भन्ने दृष्टि–चेत बोकेर कविता लेख्न शुरु गरेका मोहन कोइराला निरन्तर कविता लेखनमा सक्रिय भएर गएको देखिन्छ । यसै सन्दर्भमा २०४४ सालतिर नै ‘साहित्यकार परिचय र अभिव्यक्ति’ ग्रन्थमा यिनले यसरी आफ्नो कविताप्रतिको मोह पोखेका छन्– ‘केही सेवाभावले, प्रेरणा मनमा लागेर कविता क्षेत्रमा लागेको हुँ ।’

डकारप्रसाद कोइरालाको नाममा मित्रप्रिया र ईश्वरीप्रसाद कोइरालाका छोरा भई वि.सं. १९८३ मङ्सिर ११ गते डिल्लीबजार, काठमाडौंमा जन्मेका साहित्यकार मोहन कोइराला आधुनिक कविता क्षेत्रका प्रसिद्ध व्यक्तित्व हुन् । प्रयोगवादी धाराका शीर्षस्थ कवि कोइरालाले आधुनिक नेपाली काव्यधारामा नितान्त नौलो शैली प्रयोग गरेर कविका रुपमा सुविख्यात बनेका हुन् । गद्य कविताका शिखर तथा चर्चित कवि मोहन कोइरालाले कवितामा नै अधिकांश समयक्रम र जीवनका क्षणहरू दिएको देखिन्छ । यिनले कथा, समालोचना विधामा पनि उत्कृष्ट ढङ्गले कलम चलाए तापनि कवितामा यिनले पु¥याएको योगदान उल्लेखयोग्य छन् । ‘परिदृश्यमा गङ्गा प्रवेशमा’ लेखमा यिनले कविताकै सन्दर्भमा यस्तो लेखेका छन्– ‘छोटा–छोटा कविता लेख्नेले यो लामो कविता लेखेर के गर्न खोजेको हो भनेको पनि नसुनिएको होइन । त्यसमा म के भन्छु भने छोटो लेख्नुस् वा लामो लेख्नुस्, लेखकको आफ्नो खूबी हो । तर लामो लेख्नु मेरो रहर हो । जब छोटा कविताले आफ्नो लेखनको वेग मर्दैन त अनि लामो लेख्छ । धेरै भावना सानो कवितामा अट्दैन अनि लामो लेख्नुपर्छ । म अमूर्त गद्य कविताकार हुँ ।’

औपचारिक शिक्षा केही प्राप्त नगरीकन स्वाध्यायनले नै आफूलाई सक्रिय बनाएका मोहन कोइराला थोरै बोल्छन् तर धेरै लेख्छन् । यिनले शिक्षणसेवामार्फत अध्यापन गरे, सरकारी नोकरीमा सेवा गरे । पछिल्लो कालखण्डमा यिनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसम्म बनेर आफूलाई चिनाए । यिनका प्रकाशित कविताका पुस्तकहरूमा लेक (२०५५), पलङनम्बर २१ (२०२८), मोहन कोइरालाका कविता (२०३०), सुनका शिखरहरू (२०३१), सारङ्गी बोकेको समुद्र (२०३४), हिमचुली रक्तिम छ (२०३५), नदी किनारका माझी (२०३८), ऋतु निमन्त्रणा र गरलपान (२०४०), नीलो मह (२०४१), एउटा पपलरको पात (२०४७) छन् । समीक्षात्मक कृति ‘कविताबारे केही चर्चा’ पुस्तकमा काव्यको गहनताबारे गहन विचारहरू उल्लेख गरेका छन् । वि.सं. २००७ मा नै ‘शारदा’मा ‘जाँदाजाँदै उनीहरूले बुझिसके’ कविता छपाएर आफूलाई कविका रुपमा चिनाएका यिनी २०६३ फागुन १० गते अवसान भएको देखिन्छ ।

दुरुहता र क्लिष्ट लेख्छन् मोहन कोइराला भनेर टिप्पणी गर्नेहरूलाई जवाफको क्रममा यिनी लेख्ने गर्छन्– ‘म पनि भन्छु कुनै कविको कविता क्लिष्ट, दुरुह, दुर्बोध्य नहोस् । सङ्लो पानीजस्तो होस् तर हुन्छ र ⁄ आजसम्म भएन । दुरुहता र सरलता दुवै–दुवै एक–अर्काबाट फरक छैनन् ।’ उनी कविताकै सन्दर्भमा अगाडि लेख्छन्– ‘कविताले जहिले पनि भाषा, काल र स्थिति बोकेको हुन्छ । त्यो बोक्ने कविता स्थायी कविता हो, होइन । त्यसैले यसमा म के भन्न रुचाउँछु भने कविताले आधुनिक रचना, आधुनिक विचार बोकेको हुनुपर्छ, नभए आधुनिक हुँदैन । विचार आधुनिकता हो ।’ सम्पादन–कलामा पनि आफ्नो पहिचान देखाउन सफल यिनले ‘आजका नेपाली कविता’, ‘काव्य विचार गोष्ठी’, ‘कविता’, ‘प्रतीक’, ‘फणीन्द्र नेपालका कविता’ र ‘धरणीधर स्मृति ग्रन्थ’ आदिको पनि सम्पादन गरेका छन् । साझा पुरस्कार र मदन पुरस्कारसमेत पाइसकेका कवि कोइराला साहित्यिक क्षेत्रमा देखा परेका समर्पित साहित्यकार हुन् । टी.एस. इलियटका कविताबाट विशेष प्रभावित यिनी अस्पष्टजस्तो देखिंदो भाषा–शैलीमा कविता घोलेर लामा–लामा कविता लेख्छन् र छपाउँछन् ।

सांकेतिक भाषामा कविता लेख्न पाउँदा दङ्ग पर्ने यिनी कविले जीवनका धेरैजसो क्षणहरूमा कविताका रङ्गहरू आफूमा छर्केर कविका रुपमा प्रतिस्थापन गर्न पाउँदा दङ्ग छन् । प्रतीकात्मक र विम्बात्मक शब्दशैलीमा यिनी कविता लेख्छन् । कवितामा विम्बको प्रयोग गर्दागर्दै आफ्नो कवितालाई क्लिष्ट बनाउने यिनका लामा कविताहरू फर्सीका जराजस्तै दुरुह र दुर्बोध्य छन् भनेर पनि समालोचकहरू लेख्ने गर्छन् । समकालीन चेतनाका एउटा काव्यात्मक धार र गति हुन् मोहन कोइराला ।
स्वच्छन्दतावादी कविका रुपमा पनि ख्याति कमाएका कवि मोहन कोइरालाका केही कविता पङ्क्तिहरू यहाँ प्रस्तुत गरिएका छन्–
म तेरो सौन्दर्य–शाहज्यादीको पहिलो गायक पन्छी हुँ
म तेरो ताजमहलको पहिलो जगको मरमर हुँ
म सौन्दर्यको राजमहल, ए नरम रेशमकी काँचुली,
म त्यो कुञ्चलाई नजिकैबाट हेर्न चाहन्छु
म प्रकृतिको अञ्चललाई निकै तान्न चाहन्छु
म तेरो यौवनलाई दिन दुई दिन माग्न चाहन्छु ।
यौन भावनाका कारणले हो वा प्रेम मायाभित्र राखेर यौन बुझ्ने गर्दाले हो, मोहन कोइरालाका केही कवितामा प्रेमका उत्सर्गहरूमा यौन स्फुरण प्रत्यक्ष⁄अप्रत्यक्ष देखिंदा छन् । जस्तै–
हिपटाइट, फ्रक कसले लाउने स्टेजमा निस्कँदा
मलाई अलि नशा लागेको छ हगि
मलाई चाहिँ नशा लाग्दछ ।

हुन पनि तिम्रो अनुहारमा त्यस्तै के पोखिदिएको छ
जति हेर्दिनँ भन्दछु उति नशा भएर आउँछ ।

साढे पाँच दशकसम्म नथाकीकन यिनले कविता लेखे । कविताकै चर्चा र व्याख्यामा रमाए । कविता गोष्ठी, संगोष्ठी, कविताकै सम्पादनमा रमाएर जीवन गुजारे । अर्थात् यिनी कवितामा चलखेल गर्दै कविता नै लेखेर गएका कविताकै कवि हुन् । जे–जस्तो ढङ्गले यिनको टिप्पणी भए तापनि यिनी कवितामा एउटा तरङ्ग दिन सफल गतिशील सफल आधुनिक कवि हुन् । देवकोटा, रिमाल, शेरचनका क्रान्तिकारी र सरल शैलीमा देखिंदा कविताहरू यिनका नभए तापनि यिनका कविताहरू बौद्धिक ढङ्गका प्रयोगवादी कविताका रुपमा देखिंदा छन् । यिनै कवि कवितामा भन्ने गर्छन्– ‘मलाई हिँड्ने हिम्मत देऊ । म फर्सीको मुन्टा हुँ ।’

कवि मोहन कोइरालासँग त्यति नजिक रहेर सङ्गत गर्न पाइएन । मैले दुई–चारपल्ट मात्र जम्काभेट गर्न पाएको सम्झना छ । उपकुलपति छँदा एकपल्ट भेटेको र साधारण कुराकानी भएको सम्झना छ । दुई–चार ठाउँमा साहित्यिक यात्रा गर्दा सँगसँगै पुगेको याद छ । सबभन्दा सम्झिन लायकको घटना भनेको जनमतको वार्षिकोत्सवमा मोहन दाइ मुख्य अतिथि भई आउँदाको क्षण हो । उनले उक्त कार्यक्रममा जनमतको सराहना गर्दै भनेको याद छ– ‘जनमतको साहित्यिक अभियानबाट म धेरै प्रभावित भएँ ।’ यसै गरी मलाई पनि भन्न मन लाग्यो– ‘मोहन कोइराला लामा कविताका अग्ला कवि हुन् ।’

LEAVE A REPLY