नाटकमा अन्तिम गीत



रूस र नेपालको कूटनैतिक सम्बन्ध गाँसिएको ६०औं वर्ष मनाउने क्रममा शैली थिएटरले राजधानीको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा आन्तोन चेखबका नाटक द स्वान सोङ (अन्तिम गीत) को विशेष मञ्चन गरेको छ।
एक वृद्ध रंगकर्मीले ४५ वर्ष नाटक र अभिनय विधामा काम गर्छ र जीवनकै अन्तिम नाटकमा अभिनय गरेपछि उसको मन मस्तिष्कमा परेको प्रभावलाई नाटकमा देखाइएको छ। जीवनभर सबै कुरा छोडी उक्त कलाकारले अभावैअभावमा अभिनय गर्छ। उसले परिवारको समेत वास्ता नगरी रंगमञ्च नै सबैथोक ठानेर काम गर्छ। तर अन्तिम नाटक मञ्चनपछि ऊ रित्तो हुन्छ। ऊसँग परिवार, मञ्च, दर्शक, निर्देशक, कलाकार कोही पनि हुँदैनन्। उसको यो शून्यताको साक्षी बनेको एक युवा कलाकार उसलाई साथ दिने असफल कोसिस गर्छ र नाटकको अन्त्यमा वृद्ध कलाकार जस्तै नियति भोग्ने सम्भावना उक्त युवा कलाकारमा पनि देखिन्छ।

नाटकमा पोस्ट प्रोडक्सनका क्रममा रहेको फिल्म भुइँ मान्छेका नायक सहिन प्रजापति र डायरीका मुख्य कलाकार कुशल विष्टको प्रभावशाली अभिनयलाई कलाकार समापिका गौतम, आकृति लम्साल, सुवास सुवेदी, शशांक बोहोरा, अतुल भट्टराई, अभय देवकोटा, सौरभ ढकालले साथ दिएका थिए। कवि एवं समालोचक महेश पौड्यालले अनुवाद र नवराज बुढाथोकीको परिकल्पनामा आर्यन न्यौपानेले यो नाटकलाई निर्देशन गरेका हुन्। रूसी केन्द्रका डेपुटी डाइरेक्टर आन्तोन मासलोप, प्राध्यापक गुणाखर न्यौपाने र रंगकर्मी नवराज बुढाथोकीले यस्ता नाटक मञ्चनले नेपाल र रूसको सम्बन्धलाई अझ सुमधुर बनाएको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्