रुपकुमारको चर्चा



पढाइमा थिए उनी। तर मन भने संगीतले तानिरहन्थ्यो। संगीतमा लाग्ने हुटहुटीले सताइरहन्थ्यो। खोटाङ टेम्मा गाविस ५ खाम्लाका ३७ वर्षीय गायक रुपकुमार राई खोटाङबाट काठमाडौंतिर झरेकै थिए संगीतमा रम्नका लागि।

खोटाङकै स्थानीय स्कुलबाट एसएलसी दिएका गायक राई २०५५ सालामा काठमाठौं झरे पढाइलाई अगाडि बढाउने र सँगसँगै संगीतमा भविष्य बनाउने सपना साँचेर। हाल कोटेश्वरमा बस्दै आएका गायक राईको मन काठमाडौं झरेपछि पढाइमा भन्दा बढी संगीतमा रम्न थाल्यो। ‘खासमा काठमाडौं आएको थिएँ। पढ्ने र सँगसँगै संगीतमा लाग्ने सोचेर। तर मेरो मन पढाइमा भन्दा बढी संगीतमा फोकस भयो। मेरो शिक्षा भन्नु नै संगीत बन्न पुग्यो।’ १२ कक्षासम्मको अध्ययन गर्ने क्रममा उनी गायकका रुपमा परिचित भइसकेका थिए। काठमाडैं आएपछि स्वरका यी रुपकुमारले डोरेमी संगीत पाठशालामा गुरुदेव कामतबाट शास्त्रीय गायन सिके। त्यसपछि आफूलाई नियमितरुपमा शास्त्रीय संगीतकै विद्यार्थी बनेर अगाडि बढाए।

यसै क्रममा २०५७ सालमा रेडियो नेपालले आधुनिक गीत प्रतियोगिता आयोजना गर्न लागेका थाहा पाएपछि आफूलाई त्यसको परीक्षार्थी पनि बनाए। त्यहाँ जोशका साथ गीत प्रस्तुत गरे। उनको स्वराभ्यास र गायन जोशल रंग पनि देखायो। संगीतका दर्जनौं विद्यार्थीले प्रतिस्पर्धा गरेका प्रतियोगितामा रुपकुमार उत्कृष्ट १० भित्र पर्न सफल भए। ‘म खासमा आधुनिक गीत प्रतियोगिताको प्रतियोगीका रुपमा प्रतिस्पर्धामा सामेल भएको थिएँ। तर मेरो स्वर परीक्षा पनि त्यही रहेछ।

प्रतियोगिताको टप टेनमा परेपछि म स्वर परीक्षामा पनि पास भएँ’, उनले सुनाए– ‘त्यही सालमै रेडियो नेपालमा गीत गाउन पनि पाएँ। तुलसी बस्नेतको गीत रचना र वसन्त मुकारुङको संगीतमा यादै मिठो भन्छन् सबैले सम्झनामा बाँचिदिँदा बोलको त्यो गीत बजारमा त खासै चलेन।’ उनी आफैलाई महसुस छ– ‘चिनजान र सर्कलमा भने राम्रो चर्चा पायो। चिनजान र सर्कलकाले रुपकुमारले कस्तो राम्रो गायो भने। जसले जनमानसमा गीत खासै नचले पनि संगीत यात्रालाई अगाडि बढाउन प्रोत्साहित ग¥यो।’ त्यसको २ वर्षपछि रुपकुमार पहिलो एल्बममार्पmत सांगीतिक बजारमा प्रस्तुत भए। उनले २०५९ सालमा पहिलो एल्बमस्वरुप लोकगीतको एल्बम मनको देउराली सार्वजनिक गरे। यो एल्बमले भने उनलाई गायकका रुपमा चिनाउन सघायो। एल्बमका लागि उनले गायिका सत्यकला राईसँग गाएको फुलबुट्टे सारीको लै लै छेउमा पारी दोहोरी बोलको दोहोरी गीतले बजार पिट्यो। पहिलो एल्बमबाट सफलताको स्वाद चाखेपछि रुपकुमारको यात्रा संगीत क्षेत्रतर्पैm मोडियो। २०६१ सालमा शास्त्रीय संगीतका यी चेलाले आधुनिक गीतहरू संगृहित गीति अडियो एल्बम साक्षी बजारमा ल्याए। एल्बमको रहेको मेस पौडेलको शब्द र पारस मुकारुङको संगीतको सपनीमा तिमीलाई देख्छु तथा बुद्धवीर लामाको रचना र शिलाबहादुर मोक्तानको संगीतको ढुंगे धारा सुकेछ फेरि सांगीतिक बजारमा छाउन पुग्यो।

आफ्ना गीतहरू चल्न थाले पनि रुपकुमारले एल्बम ल्याउने हतारो भने त्यति साह्रो हतार गरेनन्। गीत स्तरीय र अर्थपूर्ण हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढ्ने उनले २०६४ सालमा आधुनिक गीतहरूको एल्बम सामिप्य बजारमा ल्याए। त्यो एल्बममा संगृहित महेश खड्काको संगीत र शंकर अधिकारी ‘घायल’ को तिम्रो मनमा के छ चलेपछि उनलाई सांगीतिक क्षेत्रमा चिनिन थप मदत मिल्न पुग्यो। अरूका एल्बमका लागि गीत गाउने कामलाई निरन्तरता दिँदै आएपछि उनले आफ्नो अर्को एल्बमका लागि भने अरु ४ वर्ष समय लगाए। एकैपटक २०६८ सालमा आएर लोक गीतको एल्बम राम साइली बजारमा ल्याए। उनको आफ्नै लय र संगीत रहेको एल्बमले त्यस वर्षको लोकगीत विधामा हिट्स एफएम म्युजिक अवार्ड चुम्न पुग्यो।

गीत संगीतबाट चर्चा र लोकप्रियता चुलिँदै अवार्डको हकदार बनाउन थाले पनि उनले नयाँ एल्बम बजारमा ल्याउन समय लिए। त्यसै कारण एकैपटक २०७१ सालमा आएर उनको आधुनिक एल्बम सार बजारमा आयो। जसको भुपाल राईको शब्द र संगीतको गुन्द्रुक किनेमा साह्रै चल्न पुग्यो। पछिल्लो एल्बम बजारमा ल्याउन पनि उनले अर्को २ वर्ष समय लगाए। हालैमात्र आफ्नै नामबाट आधुनिक र गीत गजलको एल्बम रुप बजारमा ल्याएका छन्। जसको चर्चा बोलको गीत अहिले सांगीतिक बजारमा चर्चा पाइरहेको। डा. कृष्णहरि बरालको शब्द र शान्तिराम राईको संगीत रहेको म्युजिक भिडियोसहितको यो गीतले युट्युबमा ३ सातामै ८१ हजार बढी भ्युअर्स पाइसकेको छ।

आफ्ना गीतहरूसँगै आफ्नो पनि चर्चा र लोकप्रियता वृद्धि भएसँगै रुपकुमारको सांगीतिक गतिविधि र व्यस्ततासमेत बढ्न थालेको छ। फलस्वरुप नेपालभित्रका मेला, महोत्सव र सांगीतिक कार्यक्रममा उनले लगातार निम्तो पाइरहेका छन्। राम साइँली, गुन्द्रुक किनेमा, स्वप्निल छायाँले जस्ता गीतको डिमान्डका साथ उनी देशदेखि विदेशसम्म छाउन थालेका छन्। हङकङ, मलेसिया र कुवेत पुगेर कार्यक्रम गरिसकेका रुपकुमार अब अर्को कार्यक्रमका लागि कतार जाने भएका छन्।

अहिलेको यो व्यस्ततालाई हेरेर सानैदेखिको एकखालको इच्छा गायक बन्न पाए हुन्थ्यो भन्ने रहर त्यसै जागेको होइन रहेछ भन्ने लाग्न थालेको छ। ‘पहिले रहरले गीत गाउँथे। अबचाहिँ संगीतकै जिम्मेवारीबोध भएको छ’, रुपकुमार भन्छन्– ‘अहिलेसम्म समय र अर्थ लगानी गरियो, मेहनत गरियो। अब भने नेपाली गीत संगीतमा योगदान जरुरी छ भन्ने लाग्छ। सुन्दर सिर्जना गर्नुपर्छ भन्ने महसुस भएको छ।’ उनी शास्त्रीय संगीत सिकेर आधुनिक र लोक गीत गाइरहेका छन्, आखिर किन? ‘शास्त्रीय संगीत संगीतको नलेज र सैद्धान्तिक ज्ञानका लागि सिकेको हुँ। शास्त्रीय संगीत सिके पनि शास्त्रीय गायनमा जान सकिनँ’, शास्त्रीय संगीतमा डिप्लोमा गरेका उनी भन्छन्– ‘लोकगीतचाहिँ मेरो कल्चर हो। जुन परिवेश र संस्कृतिमा म हुर्कें यो त्यहीँबाट आयो। आधुनिक गायनचाहिँ सांगीतिक चेतले सम्भव भएको छ। तर म तीनवटै विधालाई उत्तिकै प्राथमिकता दिन्छु। यसै पनि म सबैखाले गाउनुपर्छ भन्ने मान्यताले प्रयास गरिरहेको छु।’ गायनसँगै संगीत सिर्जनालाई पनि विषय बनाइरहेका उनी आफूलाई गायकमात्र भनेर चिनाउन चाहन्छन्। ‘संगीत पनि गर्छु। तर संगीत मेरो क्षेत्र हो भन्ने लाग्दैन। संगीत मुड र आवश्यकतामा मात्र गर्छुु, भन्छन्– ‘त्यसैले म आफूलाई संगीतिकार भन्दा पनि गायक भनेर चिनाउन चाहन्छु। त्यस्तो गायक, जसले सबै विधाको गीत गाउन सकोस्। मलाई आफू संगीतभन्दा बढी गायनमा जम्छु भन्ने लाग्छ।’ गीत गायन वा सांगीतिक क्षेत्रले लागेरै ऐस आरामको जिन्दगी बिताउने थोरै र संगीतमा लागेर पेट पाल्न सकिन्न भन्ने जमात धेरै भएको ठाउँमा फुटकर र कलेक्सन एल्बममा समेत गरी कुल ५ सयभन्दा बढी गीत गाइसकेका उनी भन्छन्– ‘संगीतमा लागेर जेनतेन चलिरहेको छ भन्दा पनि संगीतले बचाइरहेको छ। संगीतले भन्दा पनि विशेष गरी स्टेज कार्यक्रमले बचाएको छ। अझ अहिले त युट्युबले पनि केही सहज बनाएको छ।’

प्रतिक्रिया दिनुहोस्