आस्बा प्रणालीका लागि ११ बैंक तथा वित्तीय संस्था छानिए



नेपाल समाचारपत्र
काठमाडौं
आस्बा प्रणालीका लागि नेपाल धितोपत्र बोर्डबाट ११ वटा बैंक तथा वित्तीय संस्थाले अनुमति प्राप्त गरेका छन्। शेयर आवेदन दिएपछि बैंक खातामै पैसा रोक्ने गर्ने प्रणाली एप्लिकेसन सपोर्टेड वाई बल्केड अमाउन्ट (आस्बा) का निम्ति मापदण्ड पुगेका ११ वटा बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

बोर्डका अनुसार अनुमति पाउनेहरूमा सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, कैलाश विकास बैंक, एस डेभलपमेन्ट बैंक, सिटिजन्स् बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, एनबी बैंक र कुमारी बैंक रहेका छन्। माघदेखि लागू गर्न लागेको यस प्रणालीमा समावेश हुन थप ६ वटा बैंक तथा वित्तीय संस्थाहरूको निवेदन प्राप्त भएको उल्लेख गर्दै ती निवेदनहरूको सम्बन्धमा अध्ययन भइरहेको र छिट्टै अनुमति प्रदान गर्ने बोर्डले जनाएको छ। साथै उक्त प्रणालीमा सहभागी हुन निवेदन दिने समयावधि नतोकिएको भन्दै अन्य योग्य बैंक तथा वित्तीय संस्थाहरूले समेत बोर्डमा निवेदन आउने क्रम जारी रहेको पनि बोर्डले जनाएको छ।

सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने बोर्डको योजनामा सहजता हुने तथा सार्वजनिक निष्काशनमा आवेदन दिने सम्बन्धी विद्यमान झन्झटिलो प्रक्रियामा सुधार भई लगानीकर्तामैत्री वातावरण निर्माण हुने बोर्डको अपेक्षा रहेको छ। हाल शेयर निष्काशन प्रक्रिया महिनौं लामो र झन्झटिलो भएको अवस्थामा आस्बा प्रणाली लागू भएपछि तीन साताभित्रै शेयर बाँडफाँडको टुंगो लगाउन सकिने बोर्डले जनाएको छ। संशोधित धितोपत्र खरिद सम्बन्धी निर्देशिका २०७३ अनुसार आस्बा प्रणालीमा आबद्ध हुनका लागि प्रतिशेयर चुक्ता पुँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएका वाणिज्य बैंक तथा विकास बैंकले धितोपत्र बोर्डमा आवेदन दिन पाउने छन्।

त्यस्तै कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रहेको तथा पछिल्ला दुई वर्ष खुद नाफा कमाएको निष्कृय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम रहेको संस्था हुनुपर्ने छ। साथै नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हकमा सो फुकुवा भएको तीन वर्ष भएका बैंकहरूले मात्र आस्बा सेवा प्रदान गर्न सक्नेछन्। त्यसैगरी काठमाडौं उपत्यकाभित्र कम्तीमा चार वटा शाखा र साधारण शेयर निष्काशन गरी सूचीकृत भएको कम्पनी हुनुपर्ने तथा त्यस्ता बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा धितोपत्रको दरखास्त संकलन गर्न सक्ने व्यवस्था उल्लेख भएको हुनुपर्नेछ।

यसैबीच यस साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५४ दशमलव ६५ अंकले घटेर अन्तिम दिन १ हजार ४ सय ७५ दशमलव ४१ अंकमा पुगेर कारोबार बन्द भएको थियो। साताभरमा नेप्सेमा १ सय ५६ कम्पनीको २१ हजार ५ सय १९ कारोबारबाट २ अर्ब ८५ करोड १४ लाख ३५ हजार रुपियाँ बराबरको ३६ लाख ३२ हजार २ सय २० कित्ता शेयर किनबेच भएका थिए। कारोबार रकम गत साताको भन्दा ४७ दशमलव ३८ प्रतिशतले बढी हो।

यो साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रह्यो। बैंकको ६६ करोड ७१ लाख ५० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै बैंक अफ काठमाडौं लुम्बिनी बैंकको ९ करोड ६० लाख ९० हजार रुपियाँ, चिलिमे जलविद्युत् कम्पनीको ९ करोड ५९ लाख २० हजार रुपियाँ, सिद्धार्थ बैंकको ९ करोड २६ लाख ५० हजार रुपियाँको शेयर कारोबार भएको छ।

शेयर संख्या र कारोबार संख्याको आधारमा पनि एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ। बैंकको २ लाख १९ हजार कित्ता शेयर २ हजार ५ सय ३१ पटक कारोबार भएको थियो। साथै यस साता नेप्सेमा एभरेष्ट बैंकको ४ लाख कित्ता अग्रधिकार शेयर सूचीकृत भएको छ। पाँच दिनसम्म कारोबार भएको ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२ दशमलव ५५ अंकले घटेर ३ सय १८ दशमलव ७६ अंकको बिन्दुमा कारोबार बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्