नेपालगन्जका उद्योगमा भारतीय कामदारको बर्चस्व



नेपाल समाचारपत्र
बाँके
नेपालगन्जका उद्योग भारतीय कामदारले भरिएका छन्। रोजगारको अभाव भन्दै दैनिक सयौं व्यक्ति भारत र खाडीमुलुक गइरहेका बेला नेपालगन्जका उद्योगमा भने नेपाली कामदारको अभाव रहेको छ।

पँँच सय कामदारलाई परिचालन गरिरहेका नेपालगन्जका उद्योगी कन्हैयालाल बैश्यले चाहेर पनि नेपाली कामदार नपाएको गुनासो गर्नुभयो।‘बढी पैसा दिन्छु भन्दा पनि नेपाली कामदार पाइदैन।’ नेपालगन्ज औद्योगिक क्षेत्रभित्र मेटल उद्योग सञ्चालन गरेका बैश्यले थप्नुभयो– ‘बाध्यताले भारतीय कामदार राखेका छौं।’

नेपाली कामदारहरू उद्योगमा आइहाले पनि कि ‘राजनीति’ कि भने केही समय काम गरेर भाग्ने गरेको बैश्यको अनुभव छ। सीमा क्षेत्र भएकाले यहाँ ‘दुईनम्बरी’ काम गरेर छिटो पैसा कमाउनेको संख्या पनि कमी छैन।नेपाली कामदारहरू सीप सिकाएर अगाडि बढाउँदा पनि टिक्न नसकेको उद्योगीहरूको भनाइ थियो। बैश्यले आफूले नै तीन सय बढीलाई सीप सिकाए पनि नटिकेको बताउनुभयो। ‘भारत तथा खाडी मुलुकमा गएर जे काम पनि गर्छन्, यहाँ त्यही काम गर्न लाज मान्छन्, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको भनाइ थियो।

नेपालगन्ज नाकाबाट दैनिक भारतीय बजारमा मजदुरी गर्न जानेको संख्या यकिन छैन। यस क्षेत्रकै मानिस यो नाका भएर भारतमा काम गर्न जान्छन्। चाडबाडका बेला दैनिक ३० हजार बढी मानिसहरू घर फर्किएको देख्दा चाहि भारतमा लाखौं नेपाली कामदार छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ।

यसरी लर्को लगाएर भारत जाने नेपालीहरू नेपालगन्जका उद्योगमा किन काम गर्दैनन् ? जानकारहरू भन्छन्, दक्ष र अदक्षका कुरा आउँछन्। सबैले दक्ष कामदार खोज्छन्। भारी बोक्न, सडक खन्न जानेहरू नेपालगन्ज उद्योगमा काम लाग्दैनन्। नेपालमै रोजगारी मिल्छ, भारतमा जति पैसा यही पाइन्छ भन्ने जानकारी पनि छैन। नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको श्रम विभागले १४ वटै अञ्चलमा एक⁄एक वटा रोजगार सूचना केन्द्र स्थापना गरेर मजदुरलाई रोजगारदातासँग मिलाउने प्रयास गरे पनि त्यो त्यति उपलब्धिपूर्ण देखिएको छैन। यद्यपि, केन्द्रले पछिल्लो समयमा नेपालगन्जमा कति बेरोजगार छन्, यहाँका उद्योगलाई कस्ता कर्मचारी चाहिएको छजस्ता कुरामा अलिकति चासो दिएको छ।

केन्द्र, नेपालगन्जका रोजगारी अधिकारी अमित केसीले उद्योगहरूले दक्ष कर्मचारी नपाएको गुनासो गरिरहँदा दक्ष जनशक्ति उत्पादन गरेर दिन नसकिएको बताउनुभयो। श्रम कार्यालय, नेपालगन्जका प्रमुख मनोजकुमार यादवले ५ हजार नौ सय बेरोजगार सम्पर्कमा आएको र उनीहरूलाई रोजगारीका लागि उद्योगहरूमा नाम लिष्ट पठाएको जानकारी दिनुभयो।

नेपाल उद्योग बाणिज्य महासंघका अधिकृत अजितकुमार गुप्ताले सबैजसो उद्योगले अदक्ष जनशक्तिबाटै काम चलाएको बताउनुभयो। महासंघले केन्द्रसँग देशका विभिन्न ठाउँमा उद्योगहरूमा गई त्यहाँ भइरहेका र चाहिने कामदारका बारेमा अवलोकन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्