चन्दनपुरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो



ललितपुर, ८ पुस ।
चन्दनपुर गाविसलाई एक समारोहका बिच शुक्रबार खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । ललितपुर जिल्लाको दक्षिणी भेगमा पर्ने यस गाविस लाई सँस्कृति पर्यटन तथा नागरिक उद्यन राज्य मन्त्री ईन्द्र बहादुर बानियाले खुला दिसा मुक्त क्षेत्र भनि घोषणा गर्नुभएको हो ।

सो समारोहमा यस गाविसलाई पुर्ण खोप सुनिश्चित गाविस समेत घोषणा गरिएको छ। गाविस स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजना भएको सो कार्यक्रममा स्वच्छ सफा हरियाली चन्दनपुरको सान, एैतिहासिक गौरब गाथा हाम्रो पहिचान भन्ने नारा राखिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बानियाले खुला दिसा मुक्त क्षेत्र र पुर्नखोप सुनिश्चित क्षेत्रलाई व्यवहारमै लागु गर्न चन्दनपुर बासीसँग आग्रह गर्नुभयो । गाविस भरी प्रत्येकले चर्पीको निर्माण र दिसा खुला नगरि सधैँ चर्पीमै गर्ने प्रतिबद्धताका साथ यस क्षेत्रलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको चन्दनपुर गाविस सचिव बिनोद तिवारीले बताउनुभयो ।

स्थानिय विकास अधिकारी हरिप्रसाद दाहालले शुभकामना मन्तव्य दिँदै चर्पीको सही प्रयोग र आफ्ना बालबालिकालाई समयमै खोप लगाउन आग्रह गर्नुभयो । त्यस्तै ललितपुर क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका सभासद उदय शम्शेर राणाले चर्पीको प्रयोग गरेर सरसफाईमा ध्यान दिन सुझाब दिनुभयो ।

शहरी वातावरण तथा विकास समाज युम्स् र जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको सहकार्यमा भएको सो समारोहमा यससँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको साथै लोकदोहोरी गायक गायिका, हास्य कलाकारहरुको समेत उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्