मलामी जाने मान्छे पनि रहेनन्



विमल विष्ट
डोटी
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाट बर्षेनी हजारौको संख्यामा डोटेलीहरु रोजगारीका लागि भारत जाने गर्दछन् । गाउका गाउनै खाली हुनेगरी उनीहरु कामका लागि भारत जान थालेपछि यहाँका गाउका बिकास निर्माणका काम पनि ठप्प हुने गरेका छन् । यतिमात्र नभई स्कुल पढीरहेका युवाहरु समेत कामका लागि भारत पस्न थालेपछि अहिले यहाँका गाउघरमा बृद्ध तथा महिलामात्रै रहेको गड्सेरा गाबिस १ की भगिरथी विष्टले बताईन् ।
उनका अनुसार गाउमा युवाहरु नभएपछि मर्दा मलामी जाने तथा बिरामी हुदा अस्पताल सम्म लैजाने मान्छे पनि छैनन् । गाउमा युवाहरु नभएपछि अहिले महिलामाथी झन कामको बोझ बढेको छ । युवाहरु नहुदा गाउमा खेतीपातीको काम पनि ठप्प भएको छ । साथीभाईको लहै लहैमा लागेर स्कुल पढीरहेका युवा पनि भारत जान थालेपछि बिद्यालयको पढाईमा समेत बाधा भएको खत्याडी उच्च माबी चनुकडाका प्रअ महेन्द्र सिंह ठगुन्नाले बताउनु भयो । उहाँले भन्नु भयो– ‘बर्षेनी दजर्नौ युवाहरु बिद्यालय छोडेर भारत जान थालेका छन् । उनीहरुलाई बिद्यालयमा रोक्न कैंयौ प्रयास गरेपनि रोक्न सकिएको छैन ।’
युवाहरु रोजगारीका लागि भारत पस्न थालेपछि यहाँका गाउ घर करिब करीब युवा बिहीनको अवस्थामा पुगेको भुमीराजमाण्डौका जगतबहादुर बलायरले बताउनु भयो । उहाँले भन्नु भयो– ‘काम गर्न सक्ने जती भारत जान थाले । गाउमा बृद्ध र महिला अनि केटाकेटी मात्रै बाँकी छन् । डोटीबाट भारत जाने त पुरै लहरै लागि सक्यो ।’ गाउमा रोजगारी नपाईने भएपछि यहाँका युवाहरु बढी जसो भारत जाने गरेको अर्का स्थानीय धिरेन्द्रराज चटौतले बताउनु भयो । उहाँले भन्नु भयो– ‘गाउमा रोजगारीको खासै ब्यबस्था छैन् । खेतीपाती पनि खासै हुदैन । कमाई त गर्नै प¥यो । भारतमा जस्तो पनि रोजगारी पाउछ । अनि युवाहरु उतै जान थालेका हुन् ।’ डोटीबाट दैनिक दजर्नौ युवाहरु रोजगारी खोज्न भारत जाने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख टेकबहादुर साउदले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्