छापामार शैलीमा कार्कीमाथि मोसो



नेपाल समाचारपत्र
काठमाडौं
रेख बुझ्न गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारविहीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बिहीबार सर्वोच्च अदालतको एक कोठाभित्रै कालोमोसो दलिएको छ।

उल्लेख्य संख्यामा रहेका प्रहरीहरूको आँखा छली दुई व्यक्तिले अदालतको कोठामा नै कार्कीलाई कालोमोसो दलेका हुन्। नेकपा माओवादी विप्लव समूहका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दाङका प्रकाश शाही र चन्द्रबहादुर बुढाले मोसो दलेका थिए। उनीहरू पार्टीको योजनामुताबिक नै कार्कीलाई कालोमोसो दल्न गएको बताइएको छ। विप्लव माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्र्माले विज्ञप्ति निकालेर आफ्ना पार्टीका दुई युवा नेताले कार्कीमाथि कालोमोसो दलेको बताउनुभएको छ।

कालोमोसो दल्नासाथ ती दुईलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गर्दै लगिरहँदा ती दुईले ‘माओवादी जिन्दावाद’ भन्दै नारा लगाएका थिए। सर्वोच्च अदालतमा दर्जनौं प्रहरीहरू सुरक्षाका लागि खटिएका छन्। त्यस्तो अवस्थामा पनि उनीहरूको आँखा छली तारेख बुझ्ने कोठामा पुगेका थिए।

सर्वोच्च अदालतको आदेशबमोजिम कार्की तारेख बुझ्न बिहीबार सवा चार बजेतिर सर्वोच्च अदालत पुग्नुभएको थियो। उहाँ गाडीबाट ओर्लनासाथ कोठाभित्र प्रवेश गर्नुभएको थियो। पहिलेदेखि नै कोठामा रहेका ती दुईले उहाँलाई कालोमोसो दल्न भ्याएका थिए। सर्वोच्च अदालतको मूल गेटमा अनावश्यक व्यक्तिलाई छिर्न नदिन उल्लेख्य संख्यामा प्रहरीहरू रहेका हुन्छन्। नेपाल बार र महान्यायाधिवक्ताको कार्यालयका गेटहरूमा पनि अनावश्यक व्यक्ति प्रवेश नगरून् भनेर प्रहरीहरू राखिएका हुन्छन्। प्रहरीहरूको बाक्लो उपस्थिति हुदाँ हुँदै पनि उनीहरू गएर कार्काीलाई कालोमोसो दलेका थिए।

अदालतमा देखिएको फितलो सुरक्षा व्यवस्थाले अनेक शंका उब्जाइदिएको छ। अदालतभित्र भएको उक्त घटनालाई सर्वोच्च अदालतले गम्भीररुपमा लिएको छ।

यसैबीच प्रमुख आयुक्त कार्कीले एक विज्ञप्ति प्रकाशित गरेर आफूमाथि षड्यन्त्र भएको बताउनुभएको छ। उहाँले भ्रष्टाचारीमाथि कारबाही अगाडि बढाउँदा आफूले अपमान सहनुपरेको समेत उल्लेख गर्नुभएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारविहीन प्रमुख आयुक्त कार्कीले आफ्नो हार भएमा भ्रष्ट प्रवृत्तिको उजागर गर्ने बताउनुभएको छ।
कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– ‘त्यसबेला कतिको शरीरमा वस्त्र बाँकी नरहला त्यो समयले बताउनेछ। उहाँले भ्रष्टाचारको कालो जालो सर्वत्र भएको उल्लेख गर्दै तलदेखि माथिसम्म फोहोर देखिएपछि त्यसलाई कुचो लगाउन लाग्दा आफूमाथि जाइलागिएको बताउनुभएको छ।

उहाँले अकूत सम्पत्तिसम्बन्धि सम्पूर्ण छानविन प्रक्रिया पूरा गरी मुद्दा दायर हुनै लागेको बेला राष्ट्रियस्तरका केही नेताहरूले क्यानाडाबाट आफू फर्केकै दिन अप्रत्यासित तथा छापामार शैलीमा महाभियोगको प्रस्ताव दर्ता गराएको उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभएको छ– ‘अहिले मलाई जुन महाभियोगको चक्रव्युहमा अल्झाइएको छ, ईश्वरको अनुकम्पाले म यो चक्रव्युहबाट मुक्त हुनेछु भन्ने विश्वास छ।’ पछिल्लो समयमा आफूमाथि नियोजित ढंगले लगाइएका लाञ्छना, आरोप र दोषारोपणको शृङ्खलाहरू आफूलाई हतोत्साही गर्ने कुत्सित प्रयास भएको उहाँले जनाउनुभएको छ। उहाँले सञ्चारमाध्यम र राजनीतिक नेताहरूलाई कर छल्ने तथा एनजीओ आईएनजीओसँग मिलेर राज्यलाई हानी नोक्सानी पुर्याउने गरेको पनि आरोप लगाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्