लोकमानमाथिको बहस शुरू



काठमाडौं, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारविहीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सो पदका लागि योग्यता नपुगेको उल्लेख गरी दायर पुनरावलोकनको निवेदनमाथि बहस शुरू भएको छ।

न्यायाधीशहरू ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा सो बहस भएको छ। बिहीबार निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले कार्कीको प्रमुख आयुक्त हुनका लागि संविधानले व्यवस्था गरेबमोजिमको योग्यता नपुगेको उल्लेख गरेका थिए।

वरिष्ठ अधिवक्ता शम्भु थापाले कार्कीको संविधानमा उल्लेख भएबमोजिमको कुनै पनि योग्यता नपुग्ने बताउनुभएको थियो। अधिवक्ता टीकाराम भट्टराईले कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरिएको विषयलाई व्यवस्थापिका संसद्मा राजनीतिक पार्टीहरूले हालसम्म पनि पेस नगरेको उल्लेख गर्नुभयो।

बाधा अड्काउ फुकाउने आदेशमा त्यसरी नियुक्त गरिएको विषयलाई व्यवस्थापिका संसद् बसेको एक महिनाभित्र पेस गर्नुपर्ने उल्लेख गरिएको भए पनि हालसम्म कार्कीको नियुक्तिको विषयलाई सोबमोजिम नगरिएको इजलाससमक्ष बताउनुभएको थियो।

अधिवक्ता रमेश बडालले विगत र हालका गरी तीन संविधानमा भएको प्रावधानको तुलनात्मक विवरण पेस गर्दै कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गर्ने योग्यता नै नभएको उल्लेख गर्नुभएको थियो।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल र अधिवक्ताहरू ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी, डा. चन्द्रकान्त ज्ञवालीलगायतले बहस गर्नुभएको थियो।

त्यस्तै सरकारी अधिवक्ता किरण पौडेलले इजलासमा बहस गर्दै मुद्दा पुनरावलोकनका लागि कानुनमा भएबमोजिम कार्कीको मुद्दामा नभएको उल्लेख गर्दै मागबमोजिम रिट निवेदन जारी गर्न नहुने जिकिर गर्नुभएको थियो। आज शुक्रबार लोकमानसिंह कार्कीका कानुन व्यवसायीहरूले बहस गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्