‘संशोधन प्रस्ताव स्वीकार्य छैन’



सीताराम चौधरी, चन्द्रौटा
जनताको भावनाविपरीत प्रचण्ड सरकारले रातारात दर्ता गराएको संशोधन प्रस्ताव प्रदेशबासीलाई कदापि स्विकार्य नभएको संयुक्त संघर्ष समिति संयोजक एवं नेकपा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनुभएको छ।

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै संयुक्त संघर्ष समिति संयोजक पोख्रेलले यस्तो बताउनुभएको हो। प्रदेश नम्बर ५ मा एक महिनादेखि बन्दहड्ताल तथा विरोध हुँदा पनि सरकारका प्रधानमन्त्री, गृहमन्त्री संवेदनशील नभएको पोख्रेलले आरोप लगाउनुभयो । सरकारले पहाड, तराई टुक्राउने खेल गरिरहेको आरोप लगाउँदै ५ नम्वर प्रदेश टुक्राउने प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री प्रचण्ड सरकारलाई पोख्रेलले आग्रहसमेत गर्नुभयो।

कोणसभामा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य बालाराम ज्ञवालीले प्रचण्ड सरकारले प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राखिने जनाउँदै सम्पूर्ण पाँच नम्बर प्रदेशबासीलाई आन्दोलनमा होमिन आग्रह गर्नुभयो। अधिकारकर्मी पोमनारायण पौडेलले पाँच नम्बर प्रदेश टुक्राउने सरकारको कदम जनभावनाविपरीत रहेको तर्क राख्नुभयो। सरकारले उक्त निर्णय गर्दा वित्तिकै प्रदेशभरि भइरहेको आन्दोलनलाई सामान्यरूपमा नहेर्न सरकारलाई अधिकारकर्मी पौडेलले आग्रह गर्नुभयो।

विरोधलाई निरन्तरता दिँदै अबका दिनमा सडक र बजार मात्र होइन सरकारी कार्यालय पनि ठप्प पार्नुपर्ने राप्रपाका युवा नेता अजय थापाले बताउनुभयो। प्रदेश विभाजन सबैको सरोकारको विषय भए पनि अन्य जिल्लामा जस्तो देश र प्रदेशको चिन्ता भएका आफ्नो पार्टीका मानिसहरू नभेटेको नेविसंघ महाधिवेशन प्रतिनिधि रूपकराज खनालले दुःख प्रकट गर्नुभयो। सबै नेपाली कांग्रेस कपिलवस्तुका नेता तथा कार्यकर्तालाई पार्टीभन्दा पनि देश र जनताको भावनाको कदर गर्दै यो संशोधन प्रस्तावको विरोधमा सहभागिता जनाउन खनालले आग्रह गर्नुभयो।

सरकारले मिलेर रहेको प्रदेशलाई टुक्राउने प्रयास गलत रहेको र प्रदेश नम्बर ५ का पहाड तराईमा मिलेर बसेका जनताको विपक्षमा काम गर्नु गलत भएको सेन्ड ज्युट्स संस्थाका अध्यक्ष सुशीलकुमार श्रीवास्तवले बताउनुभयो।

प्रेस चौतारी नेपालका जिल्ला सहसचिव सञ्जीव गहतराजले सबै पत्रकारलाई समग्र पत्रकारिता जगतले पनि प्रदेश टुक्राउने कदमप्रति विरोध गरेको जनाउँदै सरकारलाई कलमबाट दबाब दिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्