बाबु प्यारालाइसिस छोराको दुवै मृगौला फेल



चण्डेनीमण्डन, काभ्रे, (नेस)

जिल्लाको चण्डेनीमण्डन गाविस–१ कान्तिटार निवासी राजु नेपाल विगत १५ वर्षदेखि प्यारालाइसिस भएर ओछ्यान परेका छन्। त्यति बेला गाउँकै भीरबाट लडेर उनी प्यारालाइसिसका बिरामी भएका हुन्। त्यसयता उनको आधा शरीर चल्दैन। दिसापिसाब गर्नका लागि पनि पाइप लगाउनुपर्ने अवस्था छ। उनलाई रेखदेख गर्न परिवारका सदस्यहरूले दैनिक रूपमै धेरै समय छुट्याउनुपर्छ। तर यति बेला यस परिवारमा अर्को वज्रपात परेको छ। परिवारका एक्ला छोरा २२ वर्षीय विशाल नेपालको दुवै मृगौला फेल भएको छ। जहाँ गारो त्यहीं सारो भनेझैं बाबुको उपचारका लागि खर्च र समय मिलाउनुपर्ने अवस्थाका विशाल अहिले आफैं गम्भीर बिरामी परेर निदान अस्पताल पुल्चोकमा मृगौलाको उपचार गराइरहेका छन्। उनको उपचार गर्न अस्पतालले १५ लाख रुपियाँ खर्च लाग्ने बताएको छ। तर आर्थिक रूपमा पनि कमजोर यो परिवारलाई सहयोग गर्ने कोही पनि छैनन्।

गाउँमा भएको एउटा सानो घर पनि गत वर्षको भूकम्पले खण्डहर बनाइदिएको छ। अहिले यो परिवार राजधानीकै पेप्सीकोलामा भाडाको भरमा बस्दै आएको छ। परिवारको आर्थिक स्रोत केही पनि छैन। यसअघि विशालले काम गरेर परिवार खर्च र बाबुको उपचारका लागि खर्च जुटाउँदै आएका थिए। तर अब उनी पनि बिरामी भएर इन्तु न चिन्तुको अवस्थामा पुगेपछि भगवान भरोसाकै भरमा परिवार चलेको छ। परिवारले मनकारी दातासँग सहयोगका लागि अनुरोध पनि गरेको छ। कसैले सहयोग गरे मात्र आफ्नो उपचार हुन सक्ने विशालले झिनो आशा राखेका छन्। सहयोग गर्न इच्छुक दाताका लागि नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको विशाल नेपालको खाता नं. ०१२०५०८०४६०१९४ मा रकम जम्मा गर्न वा ९७४१०४८२२८ मा सम्पर्क गर्न उनको परिवारले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्