३ भारतीय लुटेरा पक्राउ



नेपाल समाचारपत्र
भद्रपुर
शरीरमा काउछो दलेर रकम लुट्न खोज्ने ३ जना भारतीय लुटेरालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ। बिर्तामोडको माछापुच्छ्रे बैंकबाट पैसा झिकेर निस्किएका व्यक्तिलाई काउछो र बिस्कुटको लेदोे छरेर पैसा लुट्ने प्रयास गर्दै गर्दा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

मानिसको शरीरमा काउछो दलेर चिलाउन थालेपछि उसको साथमा रहेको रकम लुटेर लाने गरेकोे इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशव थेवेले बताए।

प्रहरीको विषेश टोलीले भारतको नक्लबाडी ग्राम पञ्चायत नक्सोरी थाना बस्ने वर्ष २० को कवर ग्वाला, भारत दार्जिलिङ पानीकौडी ग्राम पञ्चायत राजगन्ज थाना बस्ने वर्ष १९ को रोहन ग्वाला र सोही स्थानका वर्ष १८ को मनीष ग्वालालाई पक्राउ गरिएको डीएसपी थेवेले बताए। उनीहरूको साथबाट १२ पोका काउछोको धुलो र केही बिस्कुटसमेत बरामद गरेको उनले बताए। पूर्वसूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिर्तामोडमा यसरी लुटपाट गर्ने गिरोह नै रहेको प्रहरीको भनाइ छ। उनीहरू पहिले पनि काउछो दलेर रकम लुटेको अभियोगमा पक्राउ परी कैद भुक्तान गरेका व्यक्ति भएको र पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्