ढाकाको प्रदर्शनीमा नेपालीको कला



ढाकाको १७औं बाइनालेमा नेपालका चार कलाकारका कलाकृति छनोट परेका छन्। विश्वका ५४ देशका कलाकार सहभागी रहेको सो प्रदर्शनीमा नेपालबाट रविन्द्र श्रेष्ठ, जुपिटर प्रधान, कर्मा छेटु गुरुङ र लक्ष्मण श्रेष्ठ छनोटमा परेका हुन्। बंगलादेश शिल्पकला एकेडेमीको आयोजनामा हुने सो प्रदर्शनीमार्फत बंगलादेशले आफ्नो सांस्कृतिक चेतनालाई विश्वमा चिनाउने कोशिस गरेको छ।

प्रदर्शनीमा बंगलादेशका २ सय २० र अन्य देशका १ सय ४३ कलाकारका कलाकृति राखिएको छ। हरेक दुई वर्षमा हुने बाइनाले सन् १९८२ बाट शुरू भएको हो। कलाका क्षेत्रमा बंगलादेशले निकै फट्को मारेको उदाहरणका रूपमा बाइनालेलाई लिन सकिन्छ।

बाइनालेमा सहभागी नेपाली कलाकार कर्मा छेटु गुरुङले आफ्नो काममा गर्व गर्ने श्रमजीवि वर्गलाई मुख्य विषय बनाएको कलाकृति राखेका छन्। दुई वर्षअगाडिसम्म सो बाइनालेमा नेपालका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) बाट कलाकारको छनोट भइ सो प्रदर्शनीमा सहभागिता जनाउँदै आएता पनि यसपटक ग्लोबल आह्वान गरी व्यक्तिगत रूपमा कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आयोजकले आवेदन मागेको थियो। प्रतिष्ठानबाट राम्राभन्दा पनि आफ्ना मान्छेलाई सहभागिता जनाउँदा गुणस्तरीय कलाकृति पठाउन नसकेको भन्दै व्यक्तिगत रूपमै नेपाली कलाकृति मागेको र आफूले ओपन रूपमै आवेदन दिएर सेलेक्सनमा परेको सो प्रदर्शनीमा सहभागी एक कलाकारले बताए।

प्रदर्शनीका लागि कलाकार रविन्द्र श्रेष्ठले मानवीय संवेदनालाई कलात्मक रूपमा जोड्दै मानव जातिको हितमा सबै लाग्नुपर्दछ भन्ने भावका कलाकृति बनाएका छन्। अर्का कलाका जुपिटर प्रधानले होम अबे होम शीर्षकमा प्रतिस्थापन कला प्रस्तुत गरेका छन् भने लक्ष्मण श्रेष्ठले भूकम्पको तरङ्गलाई अमूर्त चित्रमार्फत प्रस्तुत गरेको कलाकृति प्रदर्शनीमा राखेका छन्। प्रदर्शनी ३१ डिसेम्बरसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्