स्वास्थ्योपचार सहज गराऊ



सरकारी अस्पतालले बिरामीको चाप थेग्न नसकेको र मागअनुसारको स्तरीय स्वास्थ्य सेवा दिन नसकेकाले निजीस्तरबाट अस्पताल खुल्ने क्रम बढ्दो छ । बिरामीका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराउनेदेखि बिरामी बोकेको हेलिकोप्टर ल्यान्ड गर्न अस्पताल भवनमै हेलिप्याड भएका अस्पताल पनि राजधानीमा खुलेका छन् । धेरैजसो रोगको उपचारका लागि अब विदेश जानुपर्ने स्थिति पनि छैन । इको, सिटी स्क्यान, ईसीजी, एमआरआई जस्ता विशेष स्वास्थ्य सेवासहित ल्याब टेस्ट, अप्रेसन एवम् अन्य उपचार सेवा एउटै छानामुनिबाट प्राप्त गर्न सकिने भएको छ ।यसले निजी अस्पतालहरूको योगदान सरकारी अस्पतालको तुलनामा कम नभएको पुष्टि हुन्छ । तर बिहान–बेलुका हातमुख जोड्न धौ–धौ हुने अधिकांश परिवारले महँगो शुल्कका कारण निजी अस्पतालमा उपचार गिराउने कल्पना गर्न पनि नसक्ने अवस्था छ ।

निजी स्वास्थ्य संस्थामा लाग्ने उपचार खर्च महँगो भएकाले नै बिरामीले सरकारी अस्पताल रोज्नुपरेको हो । त्यसैले निजी क्षेत्रका अस्पतालले बिरामीबाट असुल्ने रकममा हुनेसम्म कटौती गर्नुपर्ने देखिन्छ ।अस्पतालको संख्या बढे पनि निजी अस्पतालले असुल्ने महँगो शुल्कका कारण सर्वसाधारण बिरामीको पहुँच ती अस्पतालमा पुग्न सकेको छैन । प्रायः अस्पताल शहर केन्द्रित भएकाले पनि अधिकांश ग्रामीण जनता आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित छन् । निजी अस्पतालका लागि सरकारी अनुदान नहुनु, हस्पिटल उपकरणहरूमा पूर्णरुपमा भन्सार करसहित अन्य कर छुट नहुनु, उपचार सेवा एवम् परीक्षणहरूमा सेवाग्राहीले भ्याट तिर्नुपर्ने सरकारी प्रावधान आदिले गर्दा निजी अस्पतालमा गरिने उपचार खर्च महँगो पर्ने बताएर अस्पताल सञ्चालकहरू दोष जति सरकारलाई थोपर्ने गर्छन् । यसमा पनि सरकारको ध्यान जानु जरुरी छ ।

अर्बौं लगानी भइसकेका यहाँका सरकारी अस्पतालमा समयसापेक्ष स्वास्थ्य सेवामा सुधार हुँदै जानुको सट्टा कमिसन र राजनीति हाबी भएकाले स्वास्थ्य सेवाको गुणस्तरमा ह्रास आइरहेको छ । फेरि सरकारी अस्पतालमा उपचार गराउन त्यहाँको कोही चिनेको हुनुपर्ने वा भनसुन गर्नुपर्ने परम्पराजस्तै भएको छ ।

एउटा अप्रेसन गर्न वर्षौं पालो पर्खनुपर्दा त्यतिन्जेल मृत्युको मुखमा पुगिसक्ने भएकाले घरखेत बेचेर भए पनि बिरामीले निजी अस्पतालतिर दौडनुपर्ने बाध्यता छ । यही बाध्यताको फाइदा निजी क्षेत्रका अस्पतालले उठाउँदै आइरहेका छन् । वरिष्ठ नेताले सरकारको ढिकुटीबाट र धन हुनेले आफ्नै खल्तीबाट महँगो शुल्क तिरेरै भए पनि उपचार गराऊलान् तर सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । त्यसैले सरकार एवम् सरोकार पक्ष सबैले सर्वसाधारणका लागि स्वास्थ्योपचार सहज गराउने उपाय सोच्नै पर्छ

प्रतिक्रिया दिनुहोस्