राजनीतिक एजेन्डाबाट बन्धक देश



(सानुराजा पुरी) राजनीतिमा हरेक विषय जायज र ठीक भएको देख्ने नेपाली नेताहरू, दलाली भाग खोज्ने राजनीतिक नेतृत्व, सत्ता मात्र ताक्ने नेता, लाज नमानी भागवण्डा खोज्ने कर्मचारी, दलका कार्यकर्ता, सामन्ती चरित्रका नेता आदि, यी शब्द सुन्दा असजिलो लाग्छ तर यथार्थता यही हो नेपाली राजनीतिक चरित्रको बनावट र संस्कार । यति बेला व्यवस्थापिका संसद् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको महाअभियोगको ऐजेन्डालाई समाधान गर्न नसकेर अल्झिएको छ भने अर्कोतर्फ संविधान सशोधनको एजेन्डामा रुमलिएको छ । राष्ट्रवादी र राष्ट्रघातीको आरोप–प्रत्यारोपको खेलमा उपल्लो तहका नेताहरू लागेका छन् । को देशभक्त, को राष्ट्रघाती ? जनताले छुट्याउने बेला भएको छ ।

सत्तापक्ष⁄प्रतिपक्ष विभिन्न मुद्दामा एक–अर्कोबीच संसद्मा खनिने, विरोध गर्ने लोकतन्त्रको सुन्दर पक्ष हो । कतिपय राष्ट्रिय सवालमा सांसदहरू एक भएको पनि देखिन्छ र हुनु पनि पर्दछ । तर नेपालका सभासदहरू केही सवालमा एक भएका छन् । देशमा उपचार गर्ने सुविधा सम्पन्न अस्पतालहरू हुँदाहुँदै विदेशमा उपचार गराउन जाँदा लाग्ने खर्च लिने सवालमा एकमतले स्वीकृति गर्ने माहोल अचम्मको छ ।केही सवाल यस्ता छन् जसलाई सत्तापक्ष, प्रतिपक्ष, ठूला–साना दल सबै एकमतले समर्थन गर्दछन् । जनताको पक्षमा जनतालाई हित हुने जनउत्तरदायी प्रशासनको पक्षमा यस्तो हुनु राम्रो हुन्थ्यो । तर आफ्नो लागि संसद् सुविधा बढाउने विषयमा तलब भत्तालागयतको सुविधा बढाउन माननीयहरू एकमत भएको देख्दा मुलुकमा लोकतन्त्र त छ तर सभासदमा लाज छैन । सामान्य काममा पनि स्वार्थ राखेर काम गर्ने प्रवृत्ति नेपाली चरित्र त बनेको छैन ? साधारण, सरल र असलचरित्र बोकेका लाखौं नेपाली छन् तर नेपाली जनताको सोझोपनाको फाइदा उठाउँदै गरेका नेताहरू देख्दा अनौठो नमाने हुन्छ जनताले ।

सहनशील नेपाली जनताले अवसर नपाउँदा उनीहरू छायामा परेका छन् । व्यवस्थापनको महत्व र एउटा व्यवस्थापकले देश, समाजलाई कसरी परिर्वतन गर्न सक्छ भन्ने उदाहरण नेपाल विद्युत् प्रधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई लिन सकिन्छ । जलस्रोतको दोस्रो धनी देशमा सधैँ हुने अन्धकारलाई आशलाग्दो जुनेली किरणले देशलाई उज्यालो बनाउने काममा गरिएको योगदानका लागि जनताको तर्फबाट नमन गर्न जरुरी छ । तपाईंको व्यावसायिकता र काम गर्ने दृढ इच्छाशक्तिको कारण देशलाई उज्यालो बनाउने काम गर्दै हुनुहुन्छ । चिलिमे जलविद्युत् आयोजनाको नेतृत्व गर्दा उक्त योजनाको सफल कार्यान्वयनदेखि आज देशमा भयावह बन्दै भएको कृत्रिम लोडसेडिलाई अन्त्य गर्न चालिएका कदमको नेपाली जनताले स्वागत गरिरहेका छन् ।

सामाजिक सञ्जालदेखि सामान्य चिया पसलमा समेत कुलमानजीको चर्चा भैरहेको छ सकारात्मक कामको । भाषण र विकासको नाराले मात्र देश विकास हुँदैन । देश विकासका लागि काम गर्नुपर्दछ । राम्रो ज्ञान, योजना र सोको कार्यान्वयनका लागि कार्य गर्ने कौशलताको कारण आज देश अन्धकारबाट उज्यालोतर्फ लागेको छ । नेपालका ऊर्जाको प्रमुख स्रोत जलस्रोत पर्याप्त मात्रामा रहेको आज होइन । वि.सं. १९६८ मा शुरु गरिएको फर्पिङ जलविद्युत् आयोजना १०५ वर्ष भएछ । यस अवधिमा धेरै शासन व्यवस्था बदलियो । धेरै प्रधानमन्त्री, मन्त्री बदलिए तर जनताको अवस्था जस्ताको तस्तै रह्यो । जनताले विद्युत्जस्तो अहिलेका लागि अत्यावश्यक वस्तु आंशिक मात्र पाए । देशले यति बेला एकजना होनहार व्यक्तिलाई नेपाल विद्युत् प्राधिकरणको महाप्रबन्धकको रुपमा पाएको छ, जसले देशलाई अन्धकारबाट उज्यालोतर्फ उन्मुख गराएको छ । देशमा म्यादी सरकार आउने र जाने क्रम चलिरहने हुँदा सरकार पनि ढलिरहन्छ, तर कुलमान सर तपाईंको विश्वास र निडरता नढलोस् ।

कुलमानजस्ता धेरै नागरिक देश परिवर्तन गर्न लागिरहँदा सभासदहरूको आवस्था ठीक उल्टो छ । कसरी आफू धनी हुने, सात पुस्तालाई पुग्ने सम्पत्ति कसरी कमाउने भनी लागिरहेका छन् ।जनता र देशलाई धनी बनाउने एजेन्डामा वर्षौंदेखि दलहरू एकठाउँमा आउन सकेका छैनन्, अझै आउने छाँट पनि छैन । तर सभासदहरू आफ्नो तलब, भत्ता सुविधा बढाउन एक भएको घटना ताजा छ । विरोधै विरोधको राजनीतिक चक्र चलिरहेको यो देशमा जनताका लागि काम गर्ने नेता खोई त ? कोही कसैको बुई चढेर, कोही कसैलाई बुई चढाएर देशलाई डामाडोल बनाउनेहरूबाट नेपाली जनताले के आश गर्ने ? भाइभतिजा, सालासालीहरूलाई मात्र राम्रो देख्ने दलीय नेताबाट के आश गर्ने ? देश र जनतालाई धनी बनाउने काम कहिले होला ? आमजनताको प्रश्नको उत्तर कुनै नेतासँग छ ?
(लेखकअधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्