सातौंका लागि झापामा पाँच खेल हुने



भद्रपुर, (नेस)

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत झापामा पाँचओटा खेल हुने भएका छन्। झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार मेची रंगशाला भद्रपुरमा पत्रकार सम्मलेनको आयोजना गर्दै उक्त जानकारी गराएको हो।

झापामा बक्सिङ, आईटीएफ तेक्वादो, ब्याटमिन्टन, जुडो र जिम्न्यास्टिक खेल हुने भएको छ। मेची रंगशालामा बक्सिङ, दमकमा आईटीएफ तेक्वादो, मेची सामुदायिक कवर्ड हल काँकरभिट्टामा ब्याटमिन्टन, पासाङ ल्हामु कभर्ड हल धुलाबारीमा जुडो र जिम्न्यास्टिक खेल हुन लागेको खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए।

पाँच खेलमा ३ सय ५२ जना खेलाडीले ८६ स्वर्ण, ८६ रजत र १२४ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

पुस ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अध्यक्ष थापाले बताए।
यस्तो प्रतियोगिता ४० वर्षपछि झापामा हुने भएकाले मेची रंगशालामा खेल मैदान व्यवस्थापनसँगै रंगरोगन, बक्सिङ रिङ व्यवस्थापन, सदरमुकाममा सडक मर्मत तथा सरसफाइ, प्याराफिट मर्मत, स्टेज, स्वागत गेटलगायतको काम धमाधम भइरहेको जानकारी गराएका छन्। त्यस्तै धुलाबारी, दमक र काँकरभिट्टामा पनि खेल मैदान व्यवस्थापनदेखि अन्य तयारी धमाधम भइरहेको उनले बताए। मेची रंगशालामा पुस ९ गते भव्य उद्घाटन हुने भएकाले यसको व्यवस्थापनमा सबै लागिपरेको उनकोे भनाइ छ। उद्घाटन कार्यक्रममा विभिन्न झाँकी, स्थानीय कलाकारको प्रस्तुतीलगायतको कार्यक्रम रहेको आयोजकले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी, प्रशिक्षक, व्यवस्थापकको खर्च मिलाउने र झापामा हुने खेल व्यवस्थापन आन्तरिक स्रोतबाटै जुटाइरहेको उनले बताए। प्रतियोगिता सम्पन्न गर्न लगभग १० लाख रुपियाँ चाहिने उनको भनाइ छ।
प्रतियोगितामा पाँचवटा क्षेत्रीयस्तरीय टिम र नेपाली सेना, नेपाल प्रहरी, एपीएफ विभागीय गरी ८ टिमले सहभागिता जनाउने भएका छन्।

जसअन्तर्गत बक्सिङमा १० पुरुष, ९ महिला, २ प्रशिक्षक र २ व्यवस्थापक गरी १ सय ८४ जना, आईटीएफ तेक्वान्दोमा १३ पुरुष, १० महिला, २ प्रशिक्षक र २ व्यवस्थापक गरी २ सय १६ जना, ब्याटमिन्टनमा ७ पुरुष, ५ महिला, २ प्रशिक्षक र २ व्यवस्थापक गरी १ सय २८ जना, जुडोमा १२ पुरुष, ८ महिला, २ प्रशिक्षक र २ व्यवस्थापक गरी १ सय ९२ जना र जिम्न्यास्टिकमा ६ पुरुष, ६ महिला, २ प्रशिक्षक र २ व्यवस्थापक गरी १ सय २० जना गरी ८ सय ४० जनाको सहभागिता हुने भएको छ। पाँच खेल सम्पन्न गर्न १ सय ६२ जना निर्णायक हुने जनाइएको छ।

यता बक्सिङमा पुरुषतर्फ ४९ केजी तौलदेखि ९१ प्लस तौलसम्मका १० इभेन्ट र महिलातर्फ ४८ केजी तौलदेखि ७५ तौलसम्मका ८ इभेन्टको खेल हुनेछ। त्यस्तै जुडोमा महिलातर्फ ४४ केजी तौलदेखि ७२ तौलसम्मका ८ इभेन्ट र पुरुषतर्फ ४५ देखि १ सयभन्दा बढी तौलसम्मका १० इभेन्टका खेल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्